साउन १ अर्थात भोली शुक्रबार देखि नेपाल दुरसञ्चार प्राधिकरणले मोवाईल डिर्भाइस म्यानेजमेन्ट सिस्टम लागु गर्दैछ । मोवाईल डिभाईसलाई सरकारी सिस्टममा समेट्नको लागि सबै खालका मोवाईलमा मोवाईल डिर्भाइस म्यानेजमेन्ट सिस्टम अनिवार्य गरिएको दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
बिदेशबाट हुने मोवाईलको चोरी पैठारी रोक्न र हराएको मोवाईल पत्ता लगाउनको लागि मोवाईल डिर्भाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न लागिएको हो । आईएमईआई युनिक आइडेन्टिफाइड कोडले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्नेछ । नेपालमै मोबाइल पसलबाट भ्याट तिरेर किनेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता भएको हुन्छ ।
भन्सारको सिस्टम बाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन । त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले आग्रह गरेको छ । आफ्नो मोवाईलको आइएमइआई दर्ता छ वा छैन ? थाहा पाउनको लागि *#06# डायल गरेर हेर्न सकिन्छ ।
आइएमइआई दर्ता गरेपछि त्यो मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा जोडिने भएकोले भन्सार नगरि ल्याईएका मोवाईल नियन्त्रण गर्न सजिलो हुन्छ भने मोलाईल हराईहाल्यो भनेपनि पत्ता लगाउन सजिलो हुन्छ । हराएको आइएमइआई नम्बरको मोवाईलमा कुन नम्बर जडान गरिएको छ त्यसको आधारमा मोवाईल पत्ता लगाउने प्राधिकरणले जनाएको छ ।