नेकपा एमालेको स्थायी कमिटि बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडी बढ्ने निर्णय गर्दै कार्यदल भङ्ग गरेको छ । शुक्रबार काठमाण्डौको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने समेत निर्णय गरेको छ ।
बैठक चलिरहेका बेला नेता माधव नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमति अनुसार अगाडि बढ्न आग्रह गरेपनि अध्यक्ष ओलीले बैठक जारी रहने र कार्यसूची अगाडि बढाउन निर्देशन गरेपछि नेता नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।
दुबै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले पार्टी एकताको लागि गत असार २७ गते राती १० बुँदे सहमति गरेका थिए । तर प्रतिनीधि सभा पुनःस्थापना भएपछि सहमति कार्यान्वयन गर्नुको साटो दुबै पक्ष आ–आफ्नो तरिकाले अगाडि बढेका छन् । प्रधानमन्त्रीबाट अपदस्त भएपछि बालकोट पुगेर अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गर्नुभयो भने नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने प्रतिवद्धता गर्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आफू पक्षका नेताहरु मात्रै उपस्थित स्थायी कमिटि बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गराउनु भएको हो ।