‘रगतको सहज व्यबस्थापनको लागि अस्पतालले आफ्नै ब्लड बैंक बनाउनु पर्छ’

939

‘रगतको सहज व्यबस्थापनको लागि अस्पतालले आफ्नै ब्लड बैंक बनाउनु पर्छ’

कृष्ण चौहान क्षेत्री /

(सन्दर्भ : रक्तसञ्चार दिवस)

एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्वलाई विभिन्न रोग परिक्षण गरि आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ । विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो छ । मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्वपूर्ण भुमिका मानिन्छ । १६१६ मा वैज्ञानिक डा.विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन् । सन १६६५ मा डा.रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्काे कुकुरमा सफल सञ्चार गराएका थिए । त्यसपछि जनावरको रगत मानव शरीरमा सञ्चार गर्ने क्रममा मानिसको मृत्यु भयो । यसबाट अन्य प्राणीको रगत मानव शरीरमा सञ्चार हुँदैन भन्ने तथ्य पत्ता लागेको हो । सन १८१८ मा डा.जेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्काे मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन । सन १९०१ मा डा.कार्ल लैण्डेस्टेनरले नाम गरेका अष्ट्रियाका वैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाए । ए,ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए । यसले चिकित्सा विज्ञानमा महत्वपूर्ण उपलव्धि भएको छ ।

सन १९१४ मा बेल्जियमका डा.हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए । सन १९३० मा डा.कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए । मानव रगतमा ए, ओ र बि रक्तसमुह हुन्छ भन्ने महत्वपूर्ण तथ्य पत्ता लगाएकोले उनलाई सम्मानित गरेको थियो । विश्व स्वास्थ्य संगठनले तिनै कार्ल लैण्डेस्टेनरलेको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको हो । हरेक बर्ष १४ जुन विश्वभरि रक्तदातालाई सम्मान गर्ने दिवसको रुपमा मनाउँदै आईएको छ । सन १९३२ मा एशियाका डा.एन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाए । उनले यो प्रविधिको विकास गरे । सन १९३६ मा क्यानाडाका डा.नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेका हुन् । सन १९४० मा डा.कार्ल लैण्डेस्टेनर र डा. एलेक्जेण्डरको संयुक्त अध्यनबाट मानव रगतमा आर.एच.(नेगेटिभ÷पोजिटिभ) समूह पत्ता लगाए।मानव शरीरमा हुने रगतको ए, बि र ओ समूहसंगै आर.एच.समूह चिकित्सा विज्ञानमा सवैभन्दा महत्वपूर्ण उपलव्धि मानिन्छ । बिरामी मानिसको उपचारमा रक्त समुहको आधारमा सम्भव भएको हो । सन १९४२ मा कोलकातामा भारतको पहिलो ब्लड बैंक स्थापना भएको हो ।

नेपालमा वि.सं. २०२० चैत्र २० गते नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको ३ बर्षपछि वि.सं.२०२३ श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठामा पहिलो व्लड बैंक स्थापना भएको हो । लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको सो बैंकले पहिलो बर्ष १ सय ५७ युनिट रगत जम्मागरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो । १सय१० युनिट रगत पेशेवर रक्तदाताबाट (रगत बेच्ने भरियाहरु), ३२ युनिट बिरामीका आफन्तहरुबाट, १५ युनिट मात्र स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि विरामीलाई वितरण गरीएको थियो । यसरी नेपालमा औपचारिक रुपमा रक्ततसञ्चार शुरु भएको मिति श्रावण १२ लाई हरेक बर्ष नेपाल रेडक्रस सोसाईटिले रक्तसञ्चार दिवसको रुपमा कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ । नेपाल रेडक्रस सोसाईटीले क्रमिक रुपमा आफ्नो क्षमता विस्तार गरि हालसम्म साविकको ७० जिल्लाको १०८ स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ । आर्थिक बर्ष २०७७÷७८ मा नेपाल भरिका ब्लड बैंकबाट झण्डै २ लाख ४२ हजार ४८ युनिट रगत संकलन गरी ३ लाख ३१ हजार ४ सय ५६ युनिट रगत तथा रक्त तत्व वितरण गरेको छ ।

प्रारम्भमा रगत बेच्ने पेशेवर व्यक्तिहरुबाट रगत संकलन गरिन्थ्यो । थुप्रै भरियाहरुले पैसा लिएर रगत बिक्री गर्ने गर्थे । वि.सं.२०४० मा तत्कालिन सरकारले रगतको बेचविखन पुर्णतया अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्म शतप्रतिशत स्वयंसेवी रक्तदान गर्ने उद्देश्य वमोजिम हरेक देशले स्वयंसेवी रक्तदाताहरुलाई उत्प्रेरित गर्दै आएका छन् । वि.सं.२०४८ चैत्र २४ गतेबाट मन्त्रीपरिषदको निर्णयअनुसार रक्त संकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको थियो र त्यस केन्द्रबाट आवश्यक सहयोग र नियन्त्रणमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिटको रुपमा गठन भएका छन् । चितवन, पोखरा, नेपालगन्ज र विराटनगरमा क्षेत्रीय रक्तसञ्चार केन्दको रुपमा ब्लड बैंक सञ्चालन हुँदै आएको छ । बुटवल, धनगढि, धरानलगायत अन्य शहरहरुमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थान हुन् ।
नेपालमा रक्तसञ्चार सेवाको ईतिहास ५५बर्ष पुगेको छ । नेपाल रेडक्रस सोसाईटि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले आजको दिन अर्थात श्रावण १२ लाई रक्तसञ्चार दिवसको रुपमा मनाउँदै आएको छ । यस दिन प्रत्येक रक्तसञ्चार केन्द्रले आर्थिक बर्षभरि रगत संकलन र वितरणको विवरण प्रस्तुत गर्ने, अत्याधिक रक्तदान गर्ने संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ । तर यस बर्ष कोरोना भाईरस संक्रमणको कारणले गर्दा संघसंस्था सम्मान कार्यक्रम नहुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यस संस्थाप्रति सम्पुर्ण संघसंस्था एवं सर्वसाधारण नागरिक, स्वयंसेवी रक्तदाताहरुको विश्वास रहेको छ । वास्तवमा यति धेरै मात्रामा रगत रक्ततत्व संकलन एवं वितरण गर्नु धेरै नै चुनौतिपुर्ण कार्य हो । तर अहिले नेपाल रेडक्रस सोसाईटीलाई रगतको अत्याधिक मागलाई सहज व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ । नेपाल रेडक्रस सोसाईटि आफ्नै विविध समस्यामा रुमलिंदै आएको छ ।

सरकारले रक्तसञ्चार ऐन २०७१ जारी गरिसकेको छ । यस ऐनले रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटिको एकल जिम्मेवारी हटाएको छ । अब न्युनतम ४० बेड सञ्चालन अनुमति पाएका अस्पताल एवं स्वास्थ संस्थाले न्युनतम मापदण्ड पूरा गरि ब्लड बैंक संचालन गर्ने अनुमति पाउन सक्छन । रक्तसञ्चार सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र मापदण्ड अनुशरण र विकसित गरि देशव्यापी रुपमा सबै केन्द्रहरुमा समान रुपले कार्यन्वयन गर्ने गरि नयाँ नीतिको व्यवस्था गरिएको हो । यस नीतिको प्रमुख उद्देश्य शतप्रतिशत स्वैच्छिक रक्तदान र सवस्थ्य रक्तदान हो । विरामीलाई समयमै रगत रक्ततत्व व्यवस्थापन गरि उपचारमा सहयोग गर्ने समेत यसको उद्देश्य रहेको छ । नेपालको रक्तसञ्चार सेवा नियमनको लागि राष्ट्रिय रक्तसञ्चार व्युरो स्थापना गरिएको छ । यस व्युरोले हाल सञ्चालित सम्पुर्ण ब्लड बैंकलाई अनुगमन, नियमन र वार्षिक नविकरण गर्ने गर्दछ । साथै नयाँ ब्लड बैंक खोल्न चाहने संघसंस्थालाई निश्चित प्रक्रिया र आवश्यक मापदण्ड पुरा भएपश्चात् संचालन अनुमति दिने गर्दछ ।

रक्तसञ्चार निती जारी भएपछि केही निजी अस्पतालहरुले समेत रक्तसञ्चार (ब्लड बैंक) केन्द्र सञ्चालन गर्दै आईरहेका छन । यसबाट बिरामीलाई रगत व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटिको विकल्प तयार भएको छ । रगत व्यवस्थापनमा केही सहजता भएको छ । निजी स्तरबाट सञ्चालित ब्लड बैंकहरुले रगत तथा रक्ततत्वको शुल्क अत्याधिक राखेर, रगत तथा रक्ततत्वको व्यापार गर्दै आईरहेका छन । काठमाडौंमा रहेका केही नाम चलेका ग्रान्डि, मेडिसिटि लगायतका हस्पिटलहरुले रु २ हजार १ सय सम्म रगतको शुल्क असुल्दै आईरहेका छन् । नेपाल रेडक्रस सोसाईटिबाट सञ्चालित ब्लड बैंकले रु ५ सयमा रगत तथा रक्ततत्व वितरण गर्दै आईरहेका छन् । स्वयंसेवी रक्तदाताहरुबाट स्वैच्छिक रुपमा निःशुल्क लिईएको रगत तथा रक्ततत्वको व्यापार गर्ने होडबाजी चलेको छ । नियमनकारी सरकारी निकाय नेपाल रक्त ब्युरो यस सन्दर्भमा मौन छ ।

बुटवलमा रगत तथा रक्ततत्व व्यवस्थापन

वि.सं. २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रुपन्देहि जिल्ला शाखाको स्थापना भएको हो । नेपाल रेडक्रस सोसाईटी स्थापना पछि वि.सं.२०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो । त्यसैगरी हस्पिटल युनिटको रुपमा वि.सं. २०५७ बाट युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो । वि.सं. २०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पु¥याउँदै आएको छ । यस आर्थिक बर्षमा प्रदेश ५ सरकार, सामाजिक विकास मन्त्रालयबाट थप १ ब्लड कम्पोनेन्ट मेसिन प्राप्त भएको छ ।

बुटवल तथा नजिकका क्षेत्रहरुमा रक्तदानको राम्रो अभियान चलेको छ । झण्डै ३ सयभन्दा धेरै संघसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेका छन् । राजनैतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैर सरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आईरहेका छन् । चैत्र महिनाबाट कोरोना संक्रमण अर्थात कोभिड १९ को कारणले गर्दा लकडाउन भएसंगै रगत संकलनमा समस्या आएको थियो । यसबाट बिरामीको उपचारमा समस्या उत्पन्न भएको थियो ।
आर्थिक बर्ष २०७७/७८ मा बुटवल ब्लड बैंकबाट १८ हजार २ सय ४९ युनिट र सिद्धार्थनगर भैरहवाबाट ४ हजार ८ सय १८ युनिट रगत संकलन गरिएको छ । बुटवलमा गत बर्षको तुलनामा वृद्धि भएको छ भने सिद्धार्थनगर एकाई भैरहवामा घटेको छ ।

वितरण तर्फ बुटवल, भैरहवा, रुपन्देहीका अन्य क्षेत्र र चितवन, पाल्पा, नवलपरासीमा समेत गरी २५ हजार ९ सय ३८ युनिट रगत तथा रक्ततत्व वितरण भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले ७ हजार ७ सय ४३ युनिट, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ६ हजार ७९ युनिट, सिद्धार्थ बाल तथा महिला अस्पताल(आम्दा) ले १ हजार ५ सय २५ युनिट रगत तथा रक्ततत्व प्रयोग गरेका छन् । त्यसैगरि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजले पनि बार्षिक ३ हजार ८ सय ५९ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ ।

यस क्षेत्रमा रगत र रक्ततत्वको अत्याधिक मागलाई नेपाल रेडक्रस सोसाईटिबाट सञ्चालित ब्लड बैंकले व्यवस्थापन गर्न सकिराखेको छैन । अब बुटवलको जनघनत्व र स्वास्थ संस्थाहरुको वृद्धि संगै रगत र रक्ततत्व व्यवस्थापन थप जटिल बन्दै गएकोे छ । हिजोको अञ्चल अस्पताल अब प्रादेशिक अस्पताल भएको छ, यस अस्पतालबाट सबै विशेषज्ञ सेवा सहित नयाँ प्रविधि प्रयोग गरी बिरामीहरुको सफल उपचार भैराखेको छ । यस अस्पतालमा अब ब्लड बैंकको आवश्यकता छ । अब त्यस अस्पतालका बिरामीलाई आवश्यक रगत तथा रक्ततत्व वितरणको लागि अस्पतालले ब्लड बैंक स्थापना गर्नु अपरिहार्य रहेको छ ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रगत तथा रक्ततत्वको धेरै खपत हुने गर्छ । खासगरी डायलासिस गर्नुपर्ने विरामीहरुको लागि नियमित रगत तथा रक्ततत्वको सहज व्यवस्थापनको लागि अस्पताल आफैले ब्लड बैंक स्थापना गर्नुपर्दछ । धेरै बिरामीहरुले समयमा रगत नपाउँदा डायलासिस रोकिएको समस्या अहिले धेरै छ ।

यसैगरी आम्दा अस्पतालले समेत आफ्ना विरामीहरुको लागि आवश्यक रगत तथा रक्ततत्व व्यवस्थापनको लागि ब्लड बैंक स्थापना गर्नुपर्नै देखिन्छ । रुपन्देही जिल्लामा रक्तदान अभियानमा धेरै स्वयंसेवी रक्तदाताहरु सकृय छन् । स्वयंसेवी रक्तदाताहरुको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएका छन् । खासगरी वि.सं. २०६९ चैतमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको स्थापना भएपछि रगत व्यवस्थापनमा सहजता भएको छ । यस समाजले रुपन्देही क्षेत्रमा रहेका नियमित रक्तदाताहरुलाई संगठित गराउँदै आएको छ । प्रत्येक महिना नियमित रक्तदान, आवश्यकता अनुसार आकस्मिक रक्तदान, दुर्लभ रगत व्यवस्थापन, नयाँ रक्तदाता निर्माणको लागि ‘स्टार्ट १८ स्टार्स टिम’ गठन गरी रगत तथा रक्ततत्व अभाव हुन दिएको छैन ।

झन्डै ५ सय आजीवन सदस्य र अन्य स्वयंसेवी रक्तदाताहरुबाट यस समाजले यस बर्ष जिल्ला शाखा, देवदह, ओमसतिया, तिलोत्तमा शाखा, ‘स्टार्ट १८ स्टार्स टिम’ मार्फत ४ हजार युनिट भन्दा धेरै रगत तथा रक्ततत्व संकलन गरी व्लड बैंकलाई हस्तान्तरण गरेको छ । कोभिड १९ को विषम परिस्थितिमा समेत रगत तथा रक्ततत्व संकलन गर्नको लागि तराईको ग्रामीण भेग जस्तै तिलोत्तमा नगरपालिका, रामग्राम नगरपालिका, ओमसतिया, देवदह, कपिलवस्तुको चनौटामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी पहाडि क्षेत्र अर्घाखाँचीको सन्धिखर्क, पाल्पाको रामपुर, गुल्मीको रिडिमा समेत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कोभिड संक्रमणको बिरामीको लागि आवश्यक प्लाज्मा व्यवस्थापनमा समेत अग्रणी भुमिकामा रहँदै झन्डै ४ सय युनिट संकलन गरिएको थियो । आवश्यक्ता अनुसार रगत, रक्ततत्व, प्लाजमा चितवन, काठमाडौं, हेटौडा, जनकपुर समेत पठाएका थियौं ।

यसरी रगत व्यवस्थापनमा सक्रिय रहँदै आएको हामी स्वयंसेवी रक्तदाताहरु कहिल्यै राज्यको आँखामा परेनौ । रगत व्यवस्थापन सधै रेडक्रसकै नाम अगाडि आउने गर्दछ । हामी विनाको रेडक्रस सायद अहिलेको जस्तो रेडक्रस हुँदैन थियो होला । अहिले भ्याक्सिन सन्दर्भमा समेत हामीलाई सम्बोधनमा पर्न सकेनौं । कोभिड संक्रमणको उच्च जोखिमको क्षणमा समेत रगत अभाव हुन नदिन निरन्तर लाग्यौं । तर अहिले हामी फ्रन्टलाईनमा परेनौं । कोभिडको बेलामा सुरक्षित घरभित्र बस्नेले भ्याक्सिन पाउने तर हामी स्वयंसेवी रक्तदाताहरुले नपाउने के यो न्यायसंगत छ ?

(लेखक नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष हुनुहुन्छ ।)