आन्दोलनमा उत्रिएका शिक्षकलाई गिरफ्तार

1.3K

आन्दोलनमा उत्रिएका शिक्षकलाई गिरफ्तार

बिभिन्न माग सहित आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई शुक्रबार काठमाण्डौका बिभिन्न स्थानबाट गिरफ्तार गरिएको छ । पूर्व घोषित कार्यक्रम अनुसार प्रधानमन्त्रीको निवास अगाडी धर्नाको कार्यक्रममा जान हिंडेका शिक्षकहरुलाई प्रहरीले काठमाण्डौको टंगाल लगायतका स्थानबाट गिरफ्तार गरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले बताउनु भयो ।
शिक्षामा राज्यको लगानी न्यूनतम २० प्रतिशत हुनुपर्ने, शिक्षकलाई पनि निजामती सेवा अनुसारको सुविधा प्रदान गर्नुपर्ने लगायतका बिभिन्न ३४ सुत्रीय माग सहित नेपाल शिक्षक महासंघ आन्दोलनमा थियो । चरणवद्ध आन्दोलनमा उत्रिएको महासंघको चौथो चरणको आन्दोलन अन्तरगत आज (शुक्रबार) प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम थियो ।
धर्नाको लागि बिभिन्न बिद्यालयमा जम्मा भएर धर्ना स्थलमा जानेक्रममा बाटोबाटै प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका शिक्षकहरुलाई बिभिन्न स्थानमा राखिएको पनि महासचिव सुवेदीले जानकारी गराउनु भयो । धर्नामा हिडेका करिव ५÷६ सयको हाराहारीमा शिक्षकहरुलाई प्रहरीले गिरफ्तार गरेको र उनीहरुलाई कमलपोखरी, महेन्द्र प्रहरी क्लव लगायतका स्थानमा राखिएको पनि उहाँले बताउनु भयो ।
ठूलो संख्यामा धर्नामा हिडेका शिक्षकहरुलाई गिरफ्तार गर्नुको साथै अन्यलाई तितरबितर गराएको उहाँले बताउनु भयो । नेपाल शिक्षक महासंघले शिक्षामा राज्यको लगानी न्यूनतम २० प्रतिशत पु¥याईनु पर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका ३४ सुत्रीय माग सहित गत बैशाखदेखि चरणबद्ध आन्दोलनमा छ ।