रुपन्देहीमा क्षयरोग तथा कोरोना स्कृनिङ कर्नर स्थापना

1.3K

रुपन्देहीमा क्षयरोग तथा कोरोना स्कृनिङ कर्नर स्थापना

रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा क्षयरोग तथा कोरोना स्कृनिङ कर्नर स्थापना गरिएको छ । उक्त स्कृनिङ कर्नरको सोमबार प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
बिभिन्न कामले कार्यालयमा दैनिक आउने सेवाग्राहीको चापलाई मध्यनजर गरेर क्षयरोग र कोरोना स्कृनिङ सेन्टर सञ्चालन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले सेवा ग्राहीमा लक्षण भेटिए निशुल्क रुपमा परीक्षण गरिने जानकारी गराउनु भयो ।
कोरोना भाईरस (कोभिड १९) संक्रमण संगसंगै क्षयरोगको पनि संक्रमण हुने जोखिम भएकाले स्कृनिङ सुरु गरिएको उहाँको भनाई छ । कार्यालयमा आउने सेवाग्राहीमा क्षयरोगको लक्षण भएमा खकार संकलन तथा उपचारको व्यबस्था सरकारले नै गर्ने बताउँदै उहाँले सेवाग्राहीको चाप बढी हुने अन्य कार्यालयहरुमा पनि यो सेवा उपलब्ध गराउन सके रोग निदानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्व रणनीति अन्र्तगत राष्ट्रिय क्षयरोग कार्यक्रमले नेपालमा सन् २०५० सम्म नेपालमा पनि क्षयरोग अन्त्य गर्ने रणनीतिक लक्ष लिएको छ । नेपालमा क्षयरोग अन्त्यको लागि बहुपक्षिय जवाफदेहीताको फ्रेमवर्कलाई सिफारिश गरेअनुसार बहुपक्षिय प्रतिबद्धता र सो अनुसार कार्य हुन अनिवार्य रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिँहले बताउनु भयो ।
कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनायका टुकप्रसाद पोखरेल, स्वास्थ्यकार्यालय रुपन्देहीका होमप्रसाद खनाल तथा क्षयरोग कार्यक्रमको साझेदार संस्था किड्सका कर्मचारीहरुको उपस्थिती थियो । क्षयरोग तथा कोभिड–१९ स्कृनिङ कार्यमा प्रविधिक सहयोग सेभ द चिल्ड्रेनले गरेको छ ।