रुपन्देहीको तिलोत्तमामा रेविजविरुद्धको खोप अभियान सञ्चालन

110

रुपन्देहीको तिलोत्तमामा रेविजविरुद्धको खोप अभियान सञ्चालन

विश्व रेविज दिवस २०७८ को अवसरमा तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा रेविज विरुद्धको निःशुल्क खोप अभियान संचालन भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा तिलोत्तमा नगरपालिकाले खोप अभियान सञ्चालन गरेको हो । असोज १२ गतेदेखि सुरु भएको रेविज विरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने तिलोत्तमा नगरपालिका पशु शाखाले जानकारी दिएको छ ।
छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई लगाइने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले बताउनु भयो । रेविज विरुद्धको खोप अभियानमा नगरपालिका अन्तर्गत पशु शाखाका प्राविधिकहरु खटिएका छन् । रेविज रोग कुकुर तथा अन्य जंगली जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज संक्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले हात धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि तिलोत्तमा नगरपालिकाले अनुरोध गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेले १७ वटै वडामा सञ्चालन भएको खोप अभियानमा आफ्ना घरपालुवा कुकुरलाई सहभागी गराउने काममा सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले वडा कार्यालयको स्वीकृतिमा मात्रै कुकुर पाल्ने गर्ने नगरपालिकाले कार्यविधि बनाउन लागेको पनि जानकारी गराउनु भयो ।