मलेसियामा दर्जनौ नेपाली अलपत्र

489

मलेसियामा दर्जनौ नेपाली अलपत्र

maleबुटवल,  पुस । वैदेशिक रोजगारीका लागि मलेसियाको टिमफोर्स र ग्रुप फोर्स कम्पनीमा जाने नेपाली सम्झौता अनुसारको तलब सुविधा नपाउँदा अलपत्र पर्ने गरेका छन् ।
उक्त कम्पनीमा कामको शिलशिलामा पुगेका नेपाली कामदारलाई नेपालमा गरिएको सम्झौता बमोजिमको सेवासुविधा नदिने गरेको पाइएको हो ।
सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि काम छाडेर फर्किएका रुपन्देही मणिग्रामका युवा देशभक्त शर्माले आफूजस्तै थुप्रै युवा उक्त कम्पनीमा अलपत्र परेको जानकारी दिनु भएको छ । कम्पनी मालिकले अश्लिल र अन्यायपूर्ण व्यवहार गरी यातना दिने र कामको समय, सेवा सुविधा र पारिश्रमिक भनेबमोजिम नदिने गरेको उहांले बताउनु भयो । रोजगारदाता कम्पनीले काम गरेका सम्झौता अनुसारको तलब नदिएपछि आफू भागेर नेपाल फर्केको बताउँदै उहांले आफूजस्तै दर्जनौ नेपाली उक्त कम्पनीमा कार्यरत रहेको जानकारी दिनुभयो ।
कामदारसँग गरिएको सम्झौता बारेको कुरा गर्दा भौतिक आक्रमणका साथै शारीरिक यातना दिने गरिएको र एउटै कम्पनीमा काम गर्न नदिई फरक फरक ठाउँमा जान बाध्य पार्ने गरेकोृ शर्माले गुनासो गर्नुभयो । बिरामी हुँदा उपचार खर्च लगायत खाने बस्ने सुविधा भनिए पनि त्यो नदिइएको, फ्रि भिसा र फ्रि टिकट भनेर लगिए पनि कामदारको तलबबाट ३५ सय आरएम अर्थात करिव ६० हजार नेपाली रुपैयाँ काट्ने गरिएको उहांको दावी छ ।
शर्माका अनुसार त्यहाँ कार्यरत नेपालीलाई गैरकानुनीरुपमा राखी सम्झौता विपरितको काममा लगाइएको छ । करार अवधि सकिए पनि स्वदेश फिर्ता जान नदिएको र आवास अनुमति नवीकरण नगरिदिएको भन्दै शर्माले यसका लागि नेपाल सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।