भैरव सहकारीले कोरोना प्रभावित कार्यक्रमलाई निरन्तरता दिने

1.3K

भैरव सहकारीले कोरोना प्रभावित कार्यक्रमलाई निरन्तरता दिने

बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको भैरव बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण प्रभावित भएका कार्यक्रमहरुलाई चालु वर्षमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न साधारण सभाले संस्थाले सञ्चालन गर्दै आएका तर कोरोना महामारीका कारण प्रभावित भएका कार्यक्रमलाई परिस्थिती अनुकुल भएमा सोही अनुसार अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।
कोरोना महामारीका कारण संस्थाले नियमित सञ्चालन गर्दै आएका शेयर सदस्यहरुको अध्ययन अवलोकन भ्रमण तथा सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम हुन नसकेको संस्थाकी सचिव शर्मिला ढकालले बताउनु भयो । साधारण सभाले परिस्थिती अनुकुल भएमा ती कार्यक्रमलाई चालु वर्षमा निरन्तरता दिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको र अध्ययन अवलोकन भ्रमणको लागि ४ लाख ५० हजार रुपैंया र सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमको लागि १ लाख रुपैंया विनियोजन गरिएको संस्थाका अध्यक्ष देवीप्रसाद भुसालले जानकारी गराउनु भयो ।
साधारण सभाले शेयर सदस्य संख्या बृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थामा हाल ३९० जना शेयर सदस्य छन् । साधारण सभाले चालु आर्थिक वर्षमा ५ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै हाल कायम रहेको शेयर पुँजी १ करोड ५७ लाख २० हजार रुपैंयालाई बृद्धि गरि १ करोड ७० लाख पु¥याउने लक्ष्य लिईएको छ । साधारण सभाले संस्था सञ्चालनको लागि आवश्यक पर्ने निर्णय लिनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
साधारण सभामा सहकारी विज्ञ श्रीकृष्ण नेपालले सहकारीका ऐन, नियम तथा बिधि र प्रकृयाका बारेमा शेयर सदस्यहरुलाई जानकारीमुलक भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष देवीप्रसाद भुसालको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष दीपक चापागाई, निवर्तमान अध्यक्ष नामदेव पाण्डे, सल्लाहकार ढाकाराम न्यौपाने, कानुनी सल्लाहकार यमलाल खनाल, लेखा समिति संयोजक नारायण खनाल, शेयर सदस्य चोलाकान्त पाठक लगायत भनाई राख्नुभएको थियो ।
साधारण सभामा अध्यक्ष भुसाल तथा कोषाध्यक्ष बाबुराम ज्ञवालीले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव ढकालले बताउनु भयो ।