राष्ट्रिपति विद्यादेवी भण्डारीले शिक्षाको गुणस्तरमा जोड दिनुभएको छ । उहाँले उच्च शिक्षाको लागि विदेश जाने प्रबृत्ति रोक्नको लागि पनि शिक्षाको गुणस्तर बढाउनु पर्ने भनाई राख्नुभएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव, प्रथम त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहलाई बिहिबार लुम्बिनीमा सम्बोधन गर्दै राष्ट्रपपित भण्डारीले देश भित्रका शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनिरहेको टिप्पणी गर्नुभयो ।
विश्वविद्यालयलाई अब्बल जनशक्ति उत्पादन गरेर समृद्ध राष्ट्र निर्माणमा ठोस योगदान गर्नु पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो । ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी, विदेशी विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका मूर्त र अमूर्त सम्पदाहरु विश्वकै अमूल्य निधि भएकाले यसको संरक्ष्ण गर्न आवश्यक रहेको पनि उहाँले बताउनु भयो । कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बौद्ध र बौद्ध शिक्षासंग सम्बन्धित पुरातात्विक सम्पदाको उत्खनन् तथा संरक्षण गर्नुपर्ने उहाँको भनाई थियो । बुद्धका उपदेश/शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई सुझाव दिँदै बुद्धकालिन ज्ञान र शिक्षालाई वर्तमान पाठ्यक्रममा जोड्न उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समृद्धि र बिकासको लागि शिक्षालाई सिपसंग जोड्नुपर्ने भनाई राख्नुभएको थियो ।