बुटवल, पुस ।बुटवलमा सञ्चालन हुन लागेको लुम्बिनी एक्स्पो, अन्तर्राष्टिय व्यापार मेलास्थलको आज पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले अवलोकन गर्नुभएको छ ।
मेलास्थल बुटवल मण्डपमा आज दिउँसो अवलोकन गर्दै पुर्व प्रधानमन्त्री नेपालले मेला सञ्चालन गर्नुको उद्देश्य, मेलामा हुने सहभागिता, व्यवसायीहरुले भोग्नुपरेका समस्या लगायतका विषयमा जानकारी लिनुभएको थियो । त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले मुलुकको असहज परिस्थितिका बीच मेला आयोजना गर्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँदै यस्ता खाले मेलाले आर्थिक विकासका लागि राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले नयाँ संविधान बनिसकेपछि पनि मधेशमा जारी आन्दोलनले आर्थिक विकासलाई पछाडि धकेलेको चर्चा गर्दै आर्थिक समृद्धिको एजेण्डा ओझेलमा परेको बताउनुभयो ।
त्यस अवसरमा मेला आयोजक रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले मेलाको तयारीबारे जानकारी गराउँदै मुलुकको असहज परिस्थितिका कारण अन्य क्षेत्रका मेला तथा महोत्सव स्थगीत भैरहेको अवस्थमा बुटवलमा मेला सञ्चालन गरेर देशव्यापी सन्देश दिइएको बताउनुभयो ।
साथै उहाँले पछिल्लो समय व्यवसायीहरुले भोग्नुपरेका समस्याबारे जानकारी गराउँदै मेलास्थलमा स्थायी संरचना नहुँदा वर्षेनी ६० लाखको हाराहारीमा पुर्वाधार निर्माणमा खर्च हुने गरेको भन्दै स्थायी संरचनाको लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
मेलास्थल अवलोक्रममा एमाले नेता एवं सांसद रविन्द्र अधिकारी, एमाले केन्द्रीय सदस्यहरु खिमलाल भटराई, लिला गिरी लगायतको उपस्थिति रहेको थियो ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार बिस्तार’ भन्ने नाराका साथ यही पुस ८ देखि २१ गतेसम्म बुटवल मण्डपमा मेला आयोजना गरिंदै छ ।
विजनेश आवर टाइम’ टिकटको व्यवस्था समेत गरिएको मेलामा ६ सय स्टल रहने आयोजकले जनाएका छन् । मेला स्थलमा निःशुल्क इन्टरनेट सेवाको व्यवस्था गरिएको छ । खानेपानी, शौचालय, प्राथमिक उपचार सेवा र चौबिसै घण्टा कडा सुरक्षा व्यवस्था एवं सहज ट्राफिक ब्यवस्थापन समेत मिलाइने आयोजकको दाबी छ । मेलामा साढे ६ लाख दर्शकले अवलोकन गर्ने र ३५ करोडको अर्थिक कारोबार गर्ने लक्ष्य आयोजकहरुले लिएका छन् ।
यसैबीच मेलाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनमा उपस्थित हुन आयोजकले सबै संचारकर्मीलाई आग्रह गरेका छन् ।