नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीको अध्यक्षमा पुनः कुवँर

272

नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीको अध्यक्षमा पुनः कुवँर

वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई परामर्श गर्ने कन्सल्टेन्ट व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीको अध्यक्षमा पुनः देवबहादुर कुवँर निर्वाचित हुनु भएको छ । संघको सोमबार बुटवलमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालको लागि पुनः कुवँरलाई निर्बिरोध चयन गरिएको हो ।
संघको जिल्ला कार्यसमितिको उपाध्यक्ष पदमा अमित पौडेल, सचिवमा गिरिराज पाण्डे र कोषाध्यक्षमा राजेश पाण्डे तथा सदस्यहरुमा दीपेश अर्याल, समिर सुवेदी निर्वाचित भएका छन् । अधिवेशनमा उपाध्यक्ष र सचिव बाहेकका पदमा निर्बिरोध भएको हो । उपाध्यक्ष पदमा अमितसंग दीनेश पौडेल र सचिवमा पाण्डेसंग गोबिन्द बस्नेत प्रतिस्पर्धामा थिए ।
कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान) का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले कोभिड महामारीका कारण शैक्षिक परामर्श व्यवसायीहरु मारमा परेको बताउँदै त्यसको मारमा विद्यार्थी समेत परेको उल्लेख गर्नुभयो । यद्यपी महामारीको समयमा अध्यनमा विदेश रहेका विद्यार्थीलाई दुतावास तथा विश्वविद्यालयहरुसंग समन्वय गर्नुको साथै शुल्क कर्जा व्यवस्थापनको लागि पहल गरिएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका केन्द्रीय महासचिव दीपक भुसाल, केन्द्रीय सदस्य पुष्पराज भट्टराई, व्यवसायी गंगा सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सचिव गिरिराज पाण्डेको सञ्चालनमा भएको थियो । साधारण सभा तथा अधिवेशन अगाडि बुटवलको सुख्खानगरमा संघको कार्यालय उद्घाटन गरिएको थियो ।