काठमाडौं,/भारतले नेपालको मन्त्रिपरिषद्ले आइतबार गरेका निर्णयको स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आइतबारको मन्त्रिपरिषद् बैठकले मधेस समस्या समाधानका लागि गरेका केही महत्वपूर्ण निर्णयबारे जानकारी दिएको बताएको छ।विज्ञप्तिमा भनिएको छ– ती निर्णयहरु राज्यका सबैअंगमा समानुपातिक/समावेशी प्रतिनिधित्वको सिद्धान्त लागु गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संशोधन गर्नका लागि भएको उल्लेख गर्दै राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन परिवर्तन गर्ने र नागरिकतासम्बन्धी मुद्धालाई सम्बोधन गरिने छन्।‘भारत सरकार यो विकासक्रमको स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ‘यसले नेपालमा भइरहेको वर्तमान समस्या समाधान गर्न सहयोग गर्नेछ।’एक असल छिमेकी र शुभचिन्तकका हिसाबले भारतको संविधानका विषयमा नेपालमा भइरहेको आन्तरिक मतभेदमा गहिरो चासो रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।‘हामी नेपालका सबै राजनीतिक दललाई समस्या समाधानका लागि परिप्वक्ता र लचकता अपनाउन आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।भारतले नेपाल भारतबीच व्यापारमा भइरहेको अवरोधपनि छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेको छ।आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले तीनदलबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले केही समयअघि समानुपातिक समावेशीको सिद्धान्त अपनाउन र जनसंख्याका आधार निर्वाचन क्षेत्र तोक्न संसदमा संविधान संशोधन विधेयक अघि बढाउने र मोर्चालाई वार्ताका लागि आह्वान गर्ने सहमति गरेका थिए।