स्याङ्जाको वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा

312

स्याङ्जाको वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा

स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताउनुभयो । अध्यक्ष आलमले हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पुर्याइने बताउनु भयो ।

डायलासिस सेन्टर

सो अवसरमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको बताउनुभयो । वालिङमा डायलासिस सेन्टर सञ्चालनमा आएपछि वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुने नगरप्रमुख खाँणले बताउनु भयो ।
रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले स्याङ्जा जिल्लाको मध्यभाग वालिङमा सेन्टर स्थापना हुनुले पनि सम्बन्धित बिरामीलाई टाढा जानुपर्ने अवस्थाको अन्त्य भई छिटोछरितो र निःशुल्क हुने भएपछि प्रभावकारी रहने बताउनुभयो ।

रोटरी क्लब अफ वालिङले गरेको प्रस्तावलाई रोटरी इन्टरनेशनलले सेन्टर सञ्चालनका लागि रु पाँच करोड ५३ लाख सहयोग स्वरुप उपलब्ध गराएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । माघ १ बाट सञ्चालनमा आएको सेन्टरले दैनिक १६ जना मिर्गौलाका बिरामीको डायलासिस गर्न सकिने र सेन्टरमा डायलासिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउने र त्यहीँबाट भुक्तानी लिने भएकाले बिरामीलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष पाठकले बताउनु भयो ।