लुम्बिनीका प्रदेश प्रमुख शेरचनको चासो : कोरोना नियन्त्रणमा सरकारको प्रयास के छ ?

1.3K

लुम्बिनीका प्रदेश प्रमुख शेरचनको चासो : कोरोना नियन्त्रणमा सरकारको प्रयास के छ ?

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको प्रयास बारेमा चासो व्यक्त गर्नुभएको छ ।
कोरोना भाईरसको तेस्रो भेरियन्स (ओमिक्रोन) तिब्र गतिमा फैलिन थालेपछि उहाँले प्रदेश सरकारले यसको नियन्त्रण तथा रोकथाम, खोप कार्यक्रम र संक्रमितको उपचारमा सरकारको तर्फबाट भए गरेका प्रयासको बारेमा चासो व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित सभामुख, मन्त्रीहरु तथा प्रमुख जिल्ला अधिकारीहरुलाई समेत आफ्नो कार्यकक्षमा बोलाएर कोरोना संक्रमण नियन्त्रण तथा उपचार र खोप कार्यक्रमको बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा उहाँले महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकारले अरु प्रदेशले समेत सिको गर्नेगरी काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु हो, नागरिकको जीवन रक्षाको लागि ध्यान दिन आग्रह गर्दछु ।’
त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले मन्त्रीहरुको नेतृत्वमा जिल्लागत अनुगमन समिति बनाएर प्रभावकारी उपचारलाई जोड दिईएको जानकारी गराउनु भयो । त्यस्तै संघीय सरकार र नेपाली सेनाले लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, र बाँकेमा तीन वटा होल्डिङ सेन्टर निर्माणको काम भईरहेको जानकारी गराउनु भयो । यद्यपी रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर निर्माणको काम रोकिएको छ ।
अहिले प्रदेशमा स्वाव परीक्षण भए मध्ये ६० प्रतिशत स्याम्पलमा कोरोना पोजेटिभ देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. बिकास देवकोटाले जानकारी गराउनु भयो । उहाँका अनुसार नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसंगै शनिबारसम्म प्रदेशमा ११ जनाको ज्यान गएको छ । त्यस्तै ५ हजार ५२८ जना संक्रमित थपिएका छन् । त्यसमध्ये ५० जना संस्थागत आईसोलेसनमा छन् भने ३३ जनाको आईसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको उहाँले जानकारी गराउनु भयो ।
त्यस्तैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएर तयारी अवस्थामा राखिएको उहाँले जानकारी गराउनु भयो । ती अस्पतालमा एचडियु ६२४, आईसीयु, २५३ र भेन्टिलेटर ६२ वटा तयारी अवस्थामा रहेको उहाँको भनाई छ ।
प्रदेशमा हालसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो मात्रा र ६५ प्रतिशतलाई दोस्रो मात्रा कोरोना विरुद्धको खोप दिईएको छ । प्रदेशमा अझै १८ लाख ६२ हजार भन्दा बढी डोज खोप आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
त्यस्तैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट नाकामा आएका यात्रुको पिसिआर परीक्षण गरिएपनि संक्रमण देखिएकाको व्यवस्थापनमा समस्या रहेको जानकारी गराउनु भयो ।