लुम्बिनीमा प्रदेश भलिबल टिम छनौट

2.2K

लुम्बिनीमा प्रदेश भलिबल टिम छनौट

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदले आयोजना गरेको दोस्रो मुख्यमन्त्री कप भलिवल प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले खेलाडी छनौट गरेको छ । यहि चैतको ७ गतेदेखि हुने मुख्यमन्त्री कप भलिवल प्रतियोगितामा सहभागि हुनको लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले आईतबार खेलाडी छनौट गरेको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाको खेलकुद विकास परिषदले सिफारिस गरेर पठाएका खेलाडीहरु छनौट खेलमा सहभागि भएका थिए । प्रदेश खेलकुद परिषदले परिषदका सदस्य अर्जुन घिमिरेको संयोजकत्वमा परिषदका सदस्यहरु हरिबहादुर वली र सहायक प्रशिक्षक भिम डागी सदस्य रहेको छनौट समिति गठन गरेको थियो ।
आईतबार भएको छनौट खेलबाट १२ जना खेलाडी र ४ जना वैकल्पिक खेलाडी छनौट गरिएको समितिका संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो । छनौट खेलबाट रुपन्देहीका लोकेन्द्र बहादुर भण्डारीको कप्तानीमा प्रताप खवास (रुपन्देही), दिपेन्द्र श्रेष्ठ (गुल्मी), आदर्श रसाईली (रुपन्देही), बिनोद बिक (रुपन्देही), चिरन्जिवी खड्का (गुल्मी), महेन्द्र चौधरी (नवलपरासी), प्रबिन बुढाथोकी (गुल्मी), रुपबहादुर गुरौ(नवलपरासी), बबिन थापा (गुल्मी), आशिष सुनार (रुपन्देही), जीवन रसाईली (रुपन्देही) छनौट भएका छन् । यसैगरि बैकल्पिक खेलाडीमा सरोज चौधरी (रुपन्देही), थम्मान खत्री (रुपन्देही), दिपेश कुवर (रुपन्देही), डोल बहादुर थापा (गुल्मी) लाई छनौट गरिएको छ । छनौट प्रतिस्पर्धामा ३२ जना खेलाडी सहभागि थिए ।

प्रदेशबाट छनौट भएका खेलाडीलाई जीतको शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेश खेलकुदमा उर्वरभुमी भएको बताउनु भयो । उहाँले दिगो विकासको लक्ष अनुसार खेलकुद परिषदले कार्ययोजना बनाएर खेलकुदको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले देश संघीय प्रणालीमा गएपनि खेलकुदमा त्यो अझै हुन नसकेको अनुभूति भएको बताउँदै यसमा सबैलाई गम्भिर भएर लाग्न आग्रह गर्नुभयो । उहाँले छनौट भएको टिम आगामी खेलका लागि पनि प्रदेशको टिम हुने बताउनु भयो ।
त्यस अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खेल र पेशालाई एकआपसमा सामन्जस्यता मिलाउन सके सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश खेलकुद परिषदका सदस्य राजकुमार पाण्डे, रुपन्देही जिल्ला खेलकुद परिषदका कार्यवाहक कार्यालय प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिनुभएको थियो ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा चैत ७ देखि १२ गतेसम्म हुने उक्त मुख्यमन्त्री कप भलिवल प्रतियोगितामा उपाधि विजेताले ४ लाख रुपैंया र उपविजेताले २ लाख रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तृतीयलाई १ लाख रुपैयाँ र सान्त्वना हुने समुहलाई ५० हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।