फाईजर खोप लगाउन रुपन्देहीका स्वास्थ्यकर्मीलाई तालिम

277

फाईजर खोप लगाउन रुपन्देहीका स्वास्थ्यकर्मीलाई तालिम

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले फाईजर खोपको लागि स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । यद्यपी खोप भने आईसकेको छैन । कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाईसकेकालाई दिईने बुष्टर डोज फाईजर लगाउन स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नको लागि तालिम प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनु भयो ।
उहाँका अनुसार ९३ लाख डोज फाईजर खोप नेपाल आउँदैछ । त्यसमध्येबाट जिल्लामा आउने खोप यस अगाडि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा भएकालाई प्राथमिकताका आधारमा दिईने उहाँले बताउनु भयो । उक्त खोप सम्भवत चैतको पहिलो साता भित्रमा आउनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले चरणवद्ध रुपमा जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख, खोप लगाउने प्राविधिक र पालिकाका चिकित्सक गरि ३७५ जनालाई तालिम प्रदान गरिएको हो ।
तालिम कार्यक्रमको समापन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले साना साना कुराले पनि ठूलो महत्व राख्ने भएकाले साना कुरालाई पनि राम्रोसंग ध्यान दिएर काम गर्न सुझाव दिनुभयो । उहाँले खोप कार्यक्रमको लागि बजेटमा केही समस्या रहेको बताउँदै थप बजेट माग गरिएकोले व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले १८ वर्ष माथिकालाई खोप दिने भन्ने थियो । त्यस्तै बुष्टर डोज खोपको पनि कुरा थिएन । पछि १२ वर्ष माथिका भन्ने आयो, बुष्टर डोज खोप लगाउने कुरा आयो, त्यसले सिमिट बजेटबाट थप काम गर्नुपरेकाले समस्या भएको बताउँदै बजेट माग गरिएकाले व्यवस्थापन हुने र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल रुपन्देही जिल्लामा १२ वर्ष माथिका ९९ प्रतिशतले पहिलो मात्रा खोप लगाईसकेका छन् । त्यस्तै ९३ प्रतिशतले दोस्रो मात्रा पनि लगाईसकेको खोप अधिकृत शर्माले जानकारी गराउनु भयो । तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का तालिमका सहभागि बुद्धि घर्ती, गीता भण्डारीले भनाई राख्नुभएको थियो ।