गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको अधिवेशन सम्पन्न

770

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको अधिवेशन सम्पन्न

mutu

राम प्रसाद भण्डारी

बुटवल,पुस । गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा दुई बर्षमा ३६ हजार बढि विरामीहरुले उपचार पाएका छन् ।
वि.स. २०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालले दुई बर्षमा ३६ हजार ८३ जना विरामीहरु उपचारबाट लाभाम्बित बनेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
अस्पतालबाट ओ.पि.डी सेवाबाट २८ हजार १ सय ५७, ईमरजेन्सीबाट ४ हजार ४ सय ७३ र विरामी भर्नाबाट ३ हजार ४ सय ५३ ले उपचार सेवा प्राप्त गरेका छन् । यसैगरी दुई महिना अघि सञ्चालनमा आएको मृगौला रोग उपचार केन्द्रबाट ओपिडि तर्फ ९ सय ३, डायलाईसिस तर्फ १ सय ६५ र ११ जना फ्रि डायलाइसिस गरी १ हजार ७९ जनाले सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
रुपन्देही, गुल्मी, कपिलबस्तु, नवलपरासी, अर्घाखाँची, पाल्पा स्याङजा, बैतडि, बाँके, बारा, बर्दिया, डडेलधुरा, दैलेख, दाङ, जुम्ला, कैलाली, कञ्चनपुर, पर्वत, प्यूठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत र बाग्लुङ जिल्लामा विरामीहरुले अस्पतालबाट सेवा प्राप्त गरेका हुन ।
यसैबीच गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको तेस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलामको अध्यक्षतामा भएको कार्यक्रम, राष्ट्रिय मृगौला रोग उपचार केन्द्रका बरिष्ठ मृगौला रोग विशेष ज्ञ डा. क्रृषि राम काफ्लेले उद्घाटन गरे । सो अवसरमा बोल्दै डा. काफ्लेले सरकारले मुटु तथा क्यान्सर रोगलाई प्राथमिकता दिए जस्तै मृगौला रोगको उपचारलाई पनि अझ विशेष प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय खानपिनमा ध्यान नदिदाँ मृगौला रोगका विरामीहरु बढेकाले खानपिनमा ध्यान दिन सके मृगौला रोग लाग्नबाट बच्न सकिने बताए ।
संस्थाका अध्यक्ष एजाज आलमले विरामीको चापका कारण अहिलेको स्थान कम भएको हुँदा रामनगरमा १० विघा क्षेत्रफल प्रस्ताव गरिएको र सो जग्गा जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भइसकेकाले चाँडै सो जग्गा अस्पतालाई प्राप्त हुने आशा लिएको बताए ।
उनले जग्गा प्राप्त भएपछि २ बर्षमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने आफुहरुको योजना रहेको समेत बताए ।
उनले विरामीको चापले गर्दा अहिले अस्पतालमा ९ बेडको सिसियू सहित २४ बेटबाट सेवा प्रदान गर्दै आएको बताए । अस्पतालमा मुटु रोग सम्बन्धी शल्यक्रिया बाहेकका सवै सेवाका साथै दम, छाती, फोक्सो, स्वासप्रश्वास, मृगौला र डायलाईसिस सम्बन्धी सेवा उपलब्ध रहेको छ ।
संस्थामा हाल सम्म ३१ विशिष्ट सदस्य, १४ संस्थागत सदस्य, ४ सय ३ संस्थापक सदस्य गरी ४ सय ४८ जना सदस्य रहेका छन् ।
अध्यक्ष आलमले अस्पतालमा सेवा लिन आएका अति गरिवको कारण उपचार गर्न नसक्ने स्थिती भएका १ सय ३ जना विररामीहरुलाई निःशुल्क उपचार गरेको सोही अवसरमा जानकारी दिए ।
उनले अब छिट्टै क्याथ ल्याव सेवा विस्तार गर्न लागेको समेत बताए । त्यसका लागि विशिष्ट सदस्यता संख्या थपका साथै १० लाख रुपैयाको सम्मानित सदस्यता प्रदान गर्ने योजना रहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, संरक्षक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, नेकपा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, एकिकृत माओवादीका प्रेम गुरुङ, रोटरी क्लव आफ बुटवलका पुरुन प्रसाद श्रेष्ठ, सदस्य तिलप्रसाद भट्टराई, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, समाजसेवी गणेशमान सैजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सी लगाएतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत, अस्पतालका निर्देशक डा. शमिर गौतमको प्रतिबद्धता मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सह सचिव बावुराम बोहोराले गरेका थिए ।
संस्थाको प्रथम अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्षमा एजाज आलम पुनः निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदको भने टुंगो अझै लागिसकेको छैन् ।

उत्कृष्ट ४ कर्मचारीलाई नगद सहित सम्मान
संस्थाले आफ्नो तेस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशनका अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै ४ जना कर्मचारीलाई सम्मान गरेको हो । संस्थामा गम्भिर, कार्य कुशलता तथा अनुशासित भइ काम गरेको भन्दै ४ जनालाई प्रतिव्यक्ति रु १० हजार १ सय ५१ रुपैयाले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा ल्यावबाट राममुर्ति भट्टाई, फार्मेसी तर्फबाट हर्क बहादुर सिंजाली, वार्ड तर्फबाट अनिल वासफोर र सफाईबाट चेनकुमारी थारु सम्मानित भएका हुन । सम्मानित ४ जनालाई प्रमुख अतिथि काफ्ले र संस्थाका अध्यक्ष आलमले नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए ।