रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने

1.3K

रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने

रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो ।
उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छ वटा सहयोग सङ्घसंस्था परिचालन गरने छ । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्र विद्यालयमा राखिएको छ ।
लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलवस्तु र नवलपरासीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुने छ । यसैगरी रुकुम पूर्व, अर्घाखाँची र प्यूठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुने छ ।
देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजता अनुसार फरक-फरक मितिमा अभियान सञ्चालन गरिने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताउनुभयो ।