बुटवलमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा नयाँवर्षमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको हो ।
प्रतियोगिताको बारेमा जानकारी गराउन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष गोपाल टण्डनले प्रतियोगिताको तयारी पुरा भएको बताउनु भयो । बैशाखको ७ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा ५ विधाका खेलहरु खेलाईने छ । जसमा मेन्स सिंगल, मेन्स डबल, भेट्रान्समा ४५ वर्ष उमेर माथि र ५५ वर्ष उमेर माथि तथा महिला सिंगलमा खेलहरु खेलाईने छ ।
बुटवलको नवदिलिप कवर्डहलमा सञ्चालन गरिने प्रतियोगितामा पाँच विधामा २०८ जना खेलाडिले प्रतिस्पर्धा गर्नेछन् भने १० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताउनु भयो । प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ प्रथम हुनेलाई ५० हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै भेट्रान्समा ४५ वर्षमाथि उमेर समुह र महिला सिंगल विधामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार तृतीय हुनेलाई १० हजार तथा भेट्रान्समा ५५ वर्ष माथि उमेर समुहको खेलमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनु भयो ।
चार दिनसम्म सञ्चालन गरिने प्रतियोगितामा २० लाख ६० हजार रुपैंया खर्चानुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि खेलप्रेमी महानुभावहरु र संघसंस्थाबाट सहयोग प्राप्त भएको छ । क्लवले हालसम्म २ पटक अन्तर विद्यालय, ४ पटक क्षेत्रीय स्तर, २ पदक प्रदेश स्तरमा र १ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको छ । उक्त क्लवमा हाल ३४ जना आजिवन र ५५ जना साधारण सदस्य गरि ८९ जना सदस्य छन् ।