बुटवलमा दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आज बुधबारदेखि दोस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।
यहि बैशाखको १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बुटवलका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै मेयर सुवेदीले पछिल्लो तीन वर्षमा खेलकुदको क्षत्रमा पूर्वाधार निर्माणमा धेरै प्रगति भएको बताउनु भयो ।
त्यस्तै लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सबै उमेर समुहका मानिसलाई सहज हुने र यस खेलप्रतिको रुचि पनि बढेकाले व्याडमिन्टल खेलको विकासले महत्वपूर्ण स्थान लिएको बताउनु भयो । उहाँले यसको विकासमा के गर्न सकिन्छ, परिषद्ले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल, भेट्रान्समा ४५ वर्ष उमेर माथि र ५५ वर्ष उमेर माथि तथा महिला सिंगलमा ५ विधामा ९२ टिम खेलाडि सहभागि रहेको प्रतियोगिताका संयोजक शम्भू भट्टराईले जानकारी गराउनु भयो ।
प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल तर्फ प्रथम हुनेलाई ५० हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै भेट्रान्समा ४५ वर्षमाथि उमेर समुह र महिला सिंगल विधामा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार तृतीय हुनेलाई १० हजार तथा भेट्रान्समा ५५ वर्ष माथि उमेर समुहको खेलमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
क्लवले हालसम्म २ पटक अन्तर विद्यालय, ४ पटक क्षेत्रीय स्तर, २ पदक प्रदेश स्तरमा र १ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकिएको क्लवका अध्यक्ष गोपाल टण्डनले जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष टण्डनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा क्लवका पूर्व अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, सचिव भरत रानाले भनाई राख्नुभएको थियो ।