बुटवल, पुस । पुर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताएका छन् । वर्तमान सरकारले एकपछि अर्को गर्दै जनविरोधी निर्णयहरु गर्दै गएको र मुलुकको राजनीतिक संकट समाधान पनि गर्न नसकेकाले औचित्यहीन भएको दावी गरे ।
नेपाल प्रेस युनियनले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पुर्व अर्थमन्त्री महतले आधा दर्जन उपप्रधानमन्त्रीको नियुक्ति,पुर्व विशिष्टहरुलाई आजीवन विलासी सुविधा दिने प्रस्ताव र मन्त्रालयहरु फुटाएर धेरै बनाई मुलुकलाई आर्थिक भार थोपर्ने लगायतका निर्णयहरु आपत्तिजनक भएको बताए । ‘जथाभावी मन्त्रालय फुटाएर धेरै बनाउने, पुर्व विशिष्टहरुलाई आजीवन सुविधा दिन प्रस्ताव गर्ने र ६–६ जना उपप्रधानमन्त्रीको नियुक्ति घोर आपत्तिजनक र राष्ट्रहित विपरित छन्’–महतले भने– ‘सरकार टिकाउनकै लागि गरिएका यी निर्णयहरु नैतिकरुपमा लज्जास्पद र आर्थिकरुपमा मुलुकलाई लुट्ने खालका छन् ।’
पुर्व विशिष्टहरुलाई सुविधा दिने प्रस्ताव आफू अर्थमन्त्री भएका बेला पनि आएको तर जनस्तरबाट चर्को आलोचना भएपछि त्यो निर्णय हुन नसकेको स्मरण गर्दै उनले नेपाल जस्तो गरीब मुलुकमा संसारमा अन्त कतै यस्तो सुविधा नहुने स्पष्ट पारे ।
वर्तमान सरकार कृत्रिम स्वास प्रस्वासबाट बांचेको व्यक्ति जस्तै अल्पकालीन भएको टिप्पणी गर्दै यो सरकार आफूभित्रकै अन्तरविरोधबाट समाप्त हुने टिप्पणी गरे । नेता महतले सडक आन्दोलनबाट संविधान संशोधन नहुने भएकाले संसदबाटै समाधान खोज्न सुझाव दिए । ‘सडकले संविधान संशोधन गर्ने होइन, संसदले हो’–महतले भने–‘त्यसैले मधेशी मोर्चाले आन्दोलन छोडेर संसदमार्फत आफ्ना माग पुरा गराउन लाग्नुपर्छ ।’
भारतले गरेको अघोषित नाकाबन्दीका कारण मधेश आन्दोलन टिकेको टिप्पणी गर्दै उनले भारतको व्इवहार अन्तरराष्ट्रिय कानुन र ब्यापार सन्धि विपरित रहेको बताए ।
प्रदेश सिमांकनको विषय सम्बन्धित प्रदेशका जनताको मतका आधारमा हुने भएकाले अन्य प्रदेशका नेताले चांहदैमा सिमांकन परिवर्तन नहुने नेता महतले प्रष्ट पारे ।
कांग्रेसको आसन्न १३औं महाधिवेशनका सन्दर्भमा केन्द्रीय सदस्य रहेका नेता महतले तीन शीर्ष नेताहरु शुशिल कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल संरक्षक भएर बस्नुपर्ने र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई पार्टीको नेतृत्व दिनुपर्नेमा कार्यकर्ताको ठूलो पंक्ति देखिएको दावी गरे । उनले आवश्यक परेमा आफूले पार्टी नेतृत्व गर्न सक्ने तर अहिल्यै निर्णय नगरेको प्रष्ट पारे । युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रम सचिव कबिन्द्र नेपालले सञ्चालन गर्नुभएको थियो ।