रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई संघीय सरकारले प्रदान गर्ने दिवा खाजामा १० रुपैंया थप गरिदिएको छ । शुक्रबार नगरपालिकामा पदभार ग्रहण गरेलगत्तै मेयर रामकृष्ण खाँणले उक्त निर्णय गर्नुभएको हो ।
साना बालबालिकाको चौतर्फी विकास र उनीहरुको स्वास्थ्यलाई समेत ध्यान दिएर संघीय सरकारले प्रदान गर्दै आएको दीवा खाजामा १० रुपैंया थप गर्ने निर्णय गरिएको नवनिर्वाचित मेयर खाँणले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरुले शुक्रबार पदभार ग्रहण गरेका हुन् । शुक्रबार बिहान निर्वाचन आयोगले नवनिर्वाचित मेयर खाँणलाई पद तथा गोपनीयताको सपथग्रहण गराएको थियो भने दिउँसो मेयर खाँणले उपमेयर सहित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराई पदभार ग्रहण गर्नुभएको हो ।