नेपाल रेडक्रस सोसाईटी मणिग्राम उपशाखा अन्तरगतका विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थी र शिक्षक नायकलाई तालिम प्रदान गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राम उपशाखाको कार्यक्षेत्रमा पर्ने २८ विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरिएको तालिममा २७ विद्यालयका जुनियर रेडक्रस सर्कलका अध्यक्ष, सचिव र शिक्षक नायक सहभागि रहेको मणिग्राम उपशाखाका अध्यक्ष टेकबहादुर थापाले बताउनु भयो ।
तालिममा राष्ट्रिय प्रशिक्षक रजनिश गुप्ता, जिल्ला प्रशिक्षक राजेश जिसी, कोभिड–१९ फोकल प्रसन सुरक्षा भट्टराईले रेडक्रस सोसाईटीले गर्ने कामहरु, जुनियर रेडक्रस सर्कल गठनको प्रक्रिया, यसका नीति नियम र जुनियर रेडक्रसले गर्ने कार्यहरुको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले तालिमको उद्घाटनमा विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपूण रहेको बताउँदै यसले गर्ने गतिबिधिमा जुनियर रेडक्रस सर्कलको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनु भयो ।

तालिमको समापन कार्यक्रममा सञ्जिवनी नर्सिङ कलेजका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले रेडक्रसले नितान्त सामाजिक र मानवीय कार्यगर्ने बताउँदै यसका गतिबिधिबाट विद्यार्थीलाई पनि नयाँ सिकाई हुने र विपद् व्यवस्थापनमा पनि राम्रो भूमिका निर्वाह गर्न सक्ने औल्याउनु भयो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नं. ४ का नवनिर्वाचित अध्यक्ष हरि क्षेत्री, सदस्य मित्रलाल न्यौपाने, डिंगरनगर दुग्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सदस्य अर्जुनराज उपाध्याय, सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका प्राचार्य यम राना, देवदह उपशाखाका सभापति कृष्ण न्यौपाने लगायतले भनाई राख्नुभएको मणिग्राम उपशाखाका सचिव सुर्य पाण्डेले बताउनु भयो ।

विपद व्यवस्थापनमा विद्यालयका बालकालिकालाई सामाजिक उत्तरदायी बनाउनको लागि नेपाल सरकारको शिक्षा नियमावलीमा पनि जुनियर रेडक्रसलाई समेटेको छ । तर मुलुकको शासकीय पुनःसंरचना भएपछि कतिपय पालिकाले पालिकाको शिक्षा नियमावलीमा समेटेका छन् भने कतिपयले त्यस विषयमा पत्तै पाउन नसकेको मणिग्राम उपशाखाका अध्यक्ष टेकबहादुर थापाले बताउनु भयो ।
उपशाखाले तिलोत्तमा नगरपालिकामा पनि त्यस विषयमा लविङ गरिरहेको र तिलोत्तमा नगरपालिकामा रक्तसञ्चार सेवा केन्द्र स्थापनाको लागि पहल गरिरहेको उहाँले बताउनु भयो । उहाँका अनुसार तिलोत्तमा नगरपालिकाले रक्तसञ्चार सेवा केन्द्र स्थापनाको लागि जग्गा व्यवस्थापन गरिदिएपनि उपयुक्त स्थानमा नरहेकाले सबैलाई पायकपर्ने स्थानमा जग्गा व्यवस्थापन गर्न र रक्त सञ्चार सेवा केन्द्र स्थापनाको लागि सहयोग गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । त्यसबाहेक उपशाखाले नियमित रक्तदानको कार्यक्रम समेत गर्दै आएको छ ।