नेपालमा कुल जनसंख्याको २९ प्रतिशत नागरिक धुमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् । त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तिजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ । त्यस्तैगरी १५ देखि ५९ वर्ष उमेका पुरुष ५.१ प्रतिशत र ३.९ प्रतिशत महिला वार्षिक रुपमा थपिन्छन् ।
यो तथ्यांक विश्व स्वास्थ्य संगठनलाई उद्धित गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी गराउनु भएको हो । उहाँले भन्नुभयो–‘धुमपान, सुर्तिजन्य पदार्थको सेवन हानिकार छ भन्ने सबैलाई थाहा छ, तर प्रयोग बढीरहेको छ ।’ धुमपान तथा सुर्ति सेवनको कारणले क्यान्सर, मुटु, दम तथा स्वासप्रस्वास, मधुमेह, मृगौलामा समस्या तथा रक्तनली खुम्चिने हुनाले शरीरको रक्तसञ्चारमा पनि समस्या निम्त्याउने उहाँले बताउनु भयो ।
विश्व सुर्तिजन्य पदार्थ रहित दिवस (३१ मे) को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्दशनालयले पत्रकारहरुसँग बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रशासक रोषनलाल चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थ प्रयोग कर्ताको आधा संख्याले ज्यान गुमाउने बताउनु भयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ७ मिलियन मानिसले सुर्तिजन्य पदार्थकै कारण ज्यान गुमाउने गरेका छन् भने त्यसमध्ये ६ मिलियन प्रत्यक्ष सेवनकर्ता हुन् । सुर्तिजन्य पदार्थ सेवन कर्ताको सम्पर्कमा गएका (सेकेन्ड हेन्ड स्मोक) झण्डै ९ लाखको मृत्यु हुने गरेको छ ।
त्यस्तै नेपालमा धुमपान र सुर्ति सेवनबाट वर्षेनी २५ हजार बढीले ज्यान गुमाईरहेका छन् । त्यसमध्ये १५ हजार पुरुष र १० हजार महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा धुमपानका कारण दैनिक ६७ जनाले ज्यान गुमाईरहेका छन् । त्यस्तै प्रतिघण्टा सरदर तीन नेपालीको मृत्यु हुने गरेको छ ।
त्यसैगरी सुर्तिजन्य पदार्थको सेवनबाट लाग्ने रोगको उपचारमा सरकारले वार्षिक प्रत्यक्ष ५ अर्व रुपैंया र अप्रत्यक्ष रुपमा ५० अर्व खर्च हुने गरेको छ । धुमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको छ भने थुप्रै ऐन कानुनहरु पनि बनेका छन् । तर ति सन्धि तथा ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् ।
धुमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्नको लागि गरिएका नियमनहरु लागु भएनभएको अनुगमन तथा नियन्त्रणको पाटो फितलो छ । प्रदेश स्वास्थ्य निर्देशक गिरीका अनुसार पछिल्लो समय मुलुक संघीय संरचनामा गएपछि अनुगमन तथा नियन्त्रणको पाटो कमजोर भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले नियमनसँगै अनुगमन र नियन्त्रणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।