‘विरामी भेट्न अस्पतालमा जाँदा फलफूलको साटो नगदी अभियान मानवतासंग जोडिएको छ’

194

‘विरामी भेट्न अस्पतालमा जाँदा फलफूलको साटो नगदी अभियान मानवतासंग जोडिएको छ’

विरामी भेट्न अस्पताल जाँदा ‘फलफूलको साटो नगदी खाम’ अभियान सञ्चालन गरेका बुटवलका सामाजिक अभियान्ता मुक्तिराज पौडेललाई एउटै कुराले छोएको थियो । अस्पतालमा काम गर्ने भएकाले पनि विरामी भएर उपचारको लागि अस्पताल आउनेहरुको अवस्था राम्रोसंग पढ्ने उहाँलाई अवसर प्राप्त भएको थियो । बिरामी भेट्न आउँदा बिरामीका आफन्त तथा सुभेच्छुकहरुले ल्याउने फलफूल एकातिर कुहेर जाने र अर्कोतिर बिरामी डिष्चार्ज गर्दा अस्पतालमा लागेको शुल्क तिर्न समस्या देखेका अभियान्ता पौडेललाई यहि कुराले गिजोल्यो । अस्पतालमा बिरामी भेट्न जाँदा फलफूलको साटो नगदी खाम दिने परिपार्टी बसाल्न सकियो भने उपचारमा हुने खर्चमा पनि केही न केही सहयोग हुन्छ भन्ने उहाँलाई लाग्यो । तर यसको थालनी कसरी गर्ने ? यसलाई बिरामीले कसरी ग्रहण गर्छ ? फलफूलको साटो खाम बोकेर जान कत्तिको सहज हुन्छ ? यी प्रश्नहरुले उहाँलाई घेरीरहे । उहाँले धेरै चिन्तन मनन गर्नुभयो र अन्ततः यो अभियानमा नेतृत्व प्रदान गर्नुभयो । कुनैपनि नयाँ कामको सुरुवात कसैले न कसैले त गर्नुपर्छ नै । करिव ४ वर्ष पहिले अभियानको सुरुवात गर्दा सवत्र वाहवाही हुनुभएको सामाजिक अभियान्ता पौडेलको अभियानबाट कतिपय गरिव तथा विपन्न परिवारलाई उपचारमा धेरै राहत पनि मिलेको थियो । तर अहिले यो अभियान अलिकति सुस्ताएको छ । यीनै विषयमा सामाजिक अभियान्ता मुक्तिराज पौडेलसंग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

अस्पतालमा विरामी भट्न जाँदा ‘फलफूको साटो नगदी अभियान’ सञ्चालन गर्नुभएको थियो । अहिले यो अभियान के भईरहेको छ ?

यो अभियान अहिले पनि निरन्तर रुपमा चलिरहेको छ । यसलाई कतिले ग्रहण गर्नुभएको छ भने कतिपयले यो अभियान ग्रहण गर्न हिचकिचाउनु भएको पाईन्छ । यो अभियानलाई सबैले राम्रो भन्नुभएको छ, मनमा पनि छ तर अझैपनि दिने र लिने दुबै पक्ष हिचकिचावट मानेको पाईन्छ । यसमा दिने मान्छेले पनि अलिक आँट गर्न गाह्रो मानिरहेका छन् भने बिरामीले पनि मलाई पैसैदियो भन्ने किसिमको हिनताबोध गरेको हो की भन्ने हामीले महसुस गरेका छौं । यसलाई हामीहरुले चिर्न खोजिरहेका छौं ।

खासमा यो अभियान के हो ?

बिरामी भेट्न अस्पतालमा जाँदा उसका आफन्त, साथिभाई, ईष्टभित्र, शुभेच्छुक सबैले फलफूल लिएर जाने चलन छ । सयौं जनाले ल्याएको फलफूल खाएर पनि नभ्याईने, कुहिएर जाने र अर्कोतिर बिरामी डिस्चार्ज हुँदा अस्पतालमा तिनुपर्ने शुल्क तिर्न धौ धौ पर्ने परिस्थितीको सामना हामीले गरिरहेका छौं । आर्थिक रुपमा सम्पन्न व्यक्तिको लागि यो समस्या होईन । जो गरिबिको रेखामुनी बाँचिरहेका छन्, विपन्न छन्, कमाईधमाई छैन, ती व्यक्तिहरुको उपचार सहज छैन । विरामी पर्दा ऋण खोजेर उपचार गर्नुपर्ने बाध्यता छ, ती व्यक्तिहरुलाई यो अभियानले केही न केही सहयोग पुग्ने छ । हामीले यो अभियान चलाईरहेका छौं, बिरामीलाई भेट्न अस्पताल जाँदा फलफूलको साटो नगदी खाम दियो भने उसले आफू अनुकुलको फलफूल लगायतका खानेकुरा औषधि किनेर खान पनि सक्छ भने बचेको पैसा आफ्नो उपचारको शुल्क तिर्न पाउँछ । हामीले धेरै पैसा दिन भनेका होईनौं, तपाईले जति फलफूल किन्नुहुन्छ, त्यो नभईर नगदै दिनुहोस्, त्यसले विरामीलाई राहत हुन्छ भनेका हौं । त्यस्तै सम्पन्न व्यक्तिले पनि आफू विरामी भएर अस्पताल बस्दा त्यसरी संकलन भएको पैसा विपन्न गरिवको उपचारमा लगाउन सक्छ ।

तपाईले अभियान सञ्चालन गरिरहँदा यसको प्रभाव कस्तो पाउनु भयो ?

यसको प्रभाव धेरै राम्रो परेको छ । सुरुवाती समयमा विभिन्न मिडियाहरु तथा सामाजिक सञ्जालबाट पनि धेरै साथ र सहयोग प्राप्त भएको थियो । हामीले अभियान सुरु गरेपछि हामी जहाँ विरामीकोमा गईयो, त्यो ठाउँमा आमा बुवाहरुमा एकप्रकारको भावुकता देख्यौं, जसलाई यो आवश्यकता थियो, उनीहरुले एकदमै सकारात्मक रुपमा लिएका छन् । बिरामीहरुले एकदमै सकारात्मक रुपमा लिएको पाईयो, बाह्य प्रभावपनि राम्रो पायौं । यो अभियान मानवतासंग जोडिएको छ, भावनात्मक, पर्दाखेरी एकले अर्कालाई सहयोग गर्नुपर्छ है भन्ने सन्देश सहितको भएकाले पनि यसलाई सबैलाले सकारात्मक रुपमा लिएको पायौं । मानिसलाई आफ्नो जीवन रक्षाको लागि अस्पतालको शैयामा संघर्ष गरिरहँदा पनि त्यसवापतको शुल्क तिर्नको लागि संगसंगै अर्को संघर्ष गर्नुपर्ने बाध्यता छ । यो वाध्यताको अन्त्य होस भन्ने हामीले चाहेका छौं । यो अभियानलाई जसले गहिरो रुपमा हेरेको छ, यो अभियानलाई नराम्रो भन्ने कोही पनि छैन ।

तपाई अभियानमै हुनुहुन्छ, अभियान कसरी अगाडि बढ्छ ?

यो मलाई नितान्त व्यक्तिगत रुपमा राम्रो लागेर सुरु गरेको अभियान हो । तर मेरो लागि होईन । हाम्रो यो अभियान भनेको सबैलाई यसको बारेमा बुझाउने र कन्भिन्स गर्ने हो । त्यसमा सार्वजनिक रुपमा मिडिया तथा सामाजिक सञ्जालका माध्यमबाट पनि हामीले अपिल गरिरहेका छौं र आगामी दिनमा पनि गर्ने त्यही हो । त्यस्तै व्यक्तिगत रुपमा पनि हामीले व्यक्ति व्यक्तिलाई कन्भिन्स गरिरहेका छौं । अभियानका बारेमा प्रचारप्रसार गर्ने हो । हामीले सुरु गरेको यो अभियान राम्रो छ भन्ने सबैलाई छ, अव उहाँहरु सबैलाई कार्यान्वयनमा जोड गर्ने हो । यो मानवतासंग जोडिएको छ, यो भावनासंग जोडिएको छ, यो एकले अर्कालाई सहयोग गर्नुपर्छ है भन्ने चेतनासंग पनि जोडिएको छ । अब यो मेरो मात्रै भन्दा पनि सबैको साझा अभियानको रुपमा यसलाई अगाडि बढाउने छौं ।

अन्त्यमा तपाईलाई केही भन्नु छ की ?

हामी मानिस सर्वश्रेष्ठ र सचेत प्राणी हौं । हामी मानव मानवका लागि मात्रै नभएर विश्व जगतलाई बचाउनका लागि प्रयत्न गरिरहेका छौं । यस कारण पनि हामी मानिस एकअर्कालाई मायाँ गर्ने, एकले अर्कालाई सहयोग गर्ने, मानवता जगाईराख्ने तथा सामाजिक र सांस्कृति परिस्थितीलाई जिवित राख्नको लागि हामी एकजुट हुन आवश्यक छ । एउटालाई दुःख पर्दा अर्काले सहयोग गर्न सक्यौं भने साँच्चै शान्त नेपाल, सुन्दर नेपाल र समृद्ध नेपाल बनाउन सक्छौं ।