बुटवलका अधिकांस स्वास्थ्य प्रयोगशाला मापदण्ड विपरित सञ्चालनमा : नियमनकारी निकाय मुकदर्शक

210

बुटवलका अधिकांस स्वास्थ्य प्रयोगशाला मापदण्ड विपरित सञ्चालनमा : नियमनकारी निकाय मुकदर्शक


खेमानन्द पाठक/बुटवल, जेठ ३० । नियमनकारी निकायले वेवास्ता गरेका कारण रुपन्देहीको बुटवल उपमहानगरपालिका लगायत जिल्लाको अधिकांश शहरी तथा ग्रामिण क्षेत्रमा सञ्चालित स्वास्थ्य उपचार क्लिनिकहरु, अस्पतालहरु, डेन्टल क्लिनिकहरुका साथै स्वास्थ्य सस्थामा सञ्चालन गरिएका प्रयोगशालाहरु विना दर्ता नै सञ्चालन भइरहेको पाइएको छ ।
दर्ता भएका प्रयोगशाला पनि वर्षौदेखि नविकरण नै नगरी सञ्चालन गरिरहेका छन् । पश्चिम नेपालको स्वास्थ्यको हवका रुपमा लिइदै आएको बुटवलमा पछिल्लो समयमा निजि लगानिमा स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढेसंगै ल्याबहरु दर्ता नै नगरी चलाउने प्रवृति पनि बढिरहेको देखिन्छ । दर्ता गरेर संचालनको अनुमति लिएर मात्र संचालन गर्न पाउने नियम भएपनि संचालकहरुले आफुखुसि मनोमानि रुपमा चलाइरहेका छन् । आफु खुसि चलाईरहेता पनि हालसम्म नियमनकारी कुनै पनि निकायहरुले चासो देखाएका छैनन् ।

बुटवलमा सञ्चालित अधिकांश मेडिकलहल, अस्पतालहरु, क्लिनिक, पोलिक्निक साथै फार्मेसीहरुका प्रयोगशालाहरु सरकारले ल्याएको प्रयोगशाला सञ्चालन सम्बन्धी मापदण्ड २०७७ अनुुसार मापदण्ड पुरा गरेर सञ्चालन गरेका छैनन्। नयाँ मापदण्ड अनुसार केहि प्रयोगशाला बाहेक धेरै जसो प्रयोगशालाहरुले मानव स्वास्थ्यमा खेलवाड गर्दै परिक्षण गरिरहेका छन् । नियमनकारी निकायले कारवाहि गर्न नसक्दा यसरी प्रयोगशालाहरुको मनपरि चलेको हो । प्रयोगशाला सञ्चालन सम्बन्धी मापदण्ड २०७७ अनुुसार प्रयोगशालाहरुलाई पाँच वर्गमा विभाजन गरेको छ । जसको प्रयोगशाला सञ्चालन अनुमति अलग अलग निकायबाट लिनु पर्ने उल्लेख छ । जसमा ए र बि बर्गको प्रयोगशाला सञ्चालन अनुमति राष्ट्रिय प्रयोगशाला काठमाण्डौ बाट स्वीकृती लिनुपर्नेछ । सि वर्गका प्रयोगशालालाई प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वीकृति लिएर सञ्चालन गनृपर्ने छ । साथै डि र ई बर्गका प्रयोगशालालाई स्थानिय निकायबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने व्यवस्था छ ।

बुटवलमा ए वर्गको प्रयोगशाला एउटा मात्र रहेको छ । जुन नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. रहेको छ । त्यस्तै गरी बि वर्गको ल्याब ३ वटा दर्ता छन् । जसमा जिनोमिक डाईग्नोष्टिक ल्याब्रोटरी प्रा.लि., एसियन डाईग्नोष्टिक ल्याब्रोटरी प्रा.लि.र सिट ल्याब बुटवल प्रा.लि.रहेका छन् । यसै गरी सि वर्गको ल्याबमा ५ वटा ल्याब दर्ता छन् । जसमा थाइरो ल्याब बुटवल प्रा.लि., कालिगण्डकी हेल्थ क्लिनिक, सुधा मेडिकल सेन्टर ,इन्द्रेणी हेल्थ क्लिनिक र सि.आर.एल.छन् ।
साथै बुटवल उपमहानगरपालिकामा ९ वटा ल्याब दर्ता गरेर स्वीकृति लिएका छन् । जसमा सिद्धार्थ प्रयोगशाला, सञ्जीवनि प्रयोगशाला, कान्तिपुर प्रयोगशाला, पाण्डे प्रयोगशाला, बुटवल प्रयोगशाला, तिनाउ प्रयोगशाला, प्रगति प्रयोगशाला, सेन्टर ल्याब र मेडिक्रस डाईग्नोष्टिक ल्याब्रोटरी प्रा.लि रहेका छन् भने केहि ल्याब हरु दर्ता प्रक्रियामा रहेका छन् ।

ए वर्गको ल्याब सञ्चालन गर्न ४००० वर्ग फिट, बि वर्गको ल्याव सञ्चालन गर्न १५०० वर्ग फिट, सि वर्गको ल्यावको लागि ४०० वर्ग फिट, डि वर्गको ल्याबको लागि २५० वर्ग फिट र ई बर्गको ल्याव सञ्चालन स्वीकृती लिनको लागि १५० वर्ग फिट क्षेत्रफल आवश्यक पर्ने उल्लेख गरेको छ । साथै गुणस्तरीय ल्याव सञ्चालनको लागि प्रयोगशालाको नक्शांकन, नमुना सङकलन गर्ने देखि लिएर विसर्जन सम्म हुने गरि लजिकल प्लो मिलाएको हुनु पर्ने, नमुना संकलन,नमुना प्रोसेसिङ, नमुना परिक्षण, रिपोटिङ्ग आदिका लागि छुट्टा–छुट्टै क्षेत्र हुनुपर्ने, तोकिएको कुल क्षेत्रफलको न्युनतम ७० प्रतिशत भाग प्रयोगशाला संग सम्बन्धीत प्राविधिक परक्षण कार्यको लागि छुट्याइएको हुनु पर्ने छ । ए वर्गको प्रयोगशाला सञ्चालनको लागि प्राविधिक जनशक्ति न्युनतम तीस जना, ५० प्रतिशत जनशक्ति स्नातक अथवा सो भन्दा माथिको योग्यताको हुनु पर्ने छ । साथै कार्यविविधताका अनुसार प्रतिनिधित्व हुने गरी ५ जना स्नातकोत्तर भएको हुनुपर्ने उल्लेख गरेको छ ।

यसै गरी बि वर्गको प्रयोगशालाका लागि न्युनतम १२ जना प्राविधिक जनशक्ति आवश्यकता पर्दछ भने ५० प्रतिशत जनशक्ति स्नातक अथवा सो भन्दा माथिको योग्यताको हुनुपर्ने छ । साथै सि वर्गको प्रयोगशाला सञ्चालनको लागि न्युनतम ६ जना प्राविधिक जनशक्ति आवश्यकता पर्दछ । जसमा ५० प्रतिशत जनशक्ति स्नातक अथवा सो भन्दा माथिको योग्यताको हुनु पर्ने उल्लेख गरेको छ । डि वर्गको प्रयोगशाला सञ्चालनको लागि न्युनतम ४ जना जनशक्ति आवश्यकता पर्दछ । जसमध्ये १ जना स्नातक वा सो भन्दा माथिल्लो तहको हुनुपर्ने जनाएको छ । साथै ई वर्गका लागि १ जना ल्याब टेक्निसियन सहित न्युनतम २ जना प्राविधिक वा सो भन्दा माथिल्लो तहको हुनुपर्ने प्रावधान रहेको छ । तर यहाँ सञ्चालनमा रहेका धेरै जसो प्रयोगशालामा सरकारले ल्याएको मापदण्ड अनुसार नत पुर्वाधार नै छन् ,नत जनशक्ति छन् । १८ महिनाको तालिम लिएका सहायक ल्याब टेक्निसियनहरुले प्रयोगशाला चलाउदै आएका छन् । यस्ता जनशक्ति र पुर्वाधार विना सञ्चालन गरेका प्रयोगशाला बाट दिने ल्याब रिर्पोटको विश्वसनिय हँदैन । कुनै प्रयोगशालामा सरकारले ल्याएको प्रयोगशाला सञ्चालन मापदण्ड अनुसारको जनशक्ति छैनन, भने कुनै प्रयोगशालामा पुर्वाधारको कमि रहेको पाईएको छ ।

बुटवल आसपासको क्षेत्रमा अस्पताल,फार्मेसी, पोलिक्लिनीक,मेडिकल लगायत गरी करिव ४०० भन्दा बढि स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको तथ्याङ्कले देखाएको छ । अधिकांश मेडिकल हलले आ–आफ्नै ल्याब सञ्चालन गरेका छन् । तर दर्ता गरेर सञ्चालन गरेको ल्याब बुटवलमा १८ वटा मात्र रहेका छन् । केहि ल्याब दर्ता प्रक्रियामा रहे पनि अधिकांश ल्याबले विना दर्ता परिक्षण गरिरहेका छन् । सरकारले ल्याएको नयाँ प्रयोगशाला सञ्चालन मापदण्डको कार्यान्वयन तथा अनुगमन नहुदाँ बुटवलका ल्यावहरुको अवस्था निकै कमजोर रहेको पाइएको छ । मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान)का केन्द्रिय सचिवालय सदस्य गुणानिधि खनालले सवै स्थानिय निकायहरुमा प्रयोगशाला प्राविधिक जनशक्तिको कमि हुने भएकाले प्रदेश जन स्वास्थ्य प्रयोगशालाले अनुमति दिएर मात्र सञ्चालन गर्नृ पर्ने तर्क गर्नु भयो ।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले सरकारले ल्याएको नयाँ प्रयोगशाला सञ्चालन मापदण्ड बढि कडाई गरेर आएको हुनाले सवै ठाउँमा एउटै नियम बनाउँदा दर्ता प्रक्रियामा समस्या देखिएकाले प्रयोगशालाहरुलाई सुधार गर्न कठिनाई भएकाले दर्ता प्रक्रिया सहज बनाइनु पर्ने भनाई छ । सरकारले ल्याएको प्रयोगशाला सञ्चालन मापदण्डले ठुला अस्पताल र ग्रामिण तथा सानो ठाउँमा सञ्चालन भइरहेका ल्याबहरुको लागि एउटै मापदण्ड तोकिएकाले केहि समस्या रहेको बताउनु हुन्छ । जिल्लामा करिव २०० भन्दा बढि ल्यावहरु सञ्चालनमा रहेतापनि केहि ल्याबहरु नविकरण प्रक्रियामा रहेका र केहि ल्याबहरुलाई दर्ता प्रक्रियामा ल्याउनको लागि पहल भइरहेको बताउनु भयो ।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले बुटवल उपमहानगरपालिकामा हाल सम्म ९ वटा ल्याबले मात्र प्रयोगशाला सञ्चालनको लागि स्वीकृति लिएको बताउदै सरकारले ल्याएको नयाँ मापदण्ड अनुसार धेरै प्रयोगशालाहरुको मापदण्ड नपुग्ने भएकाले दर्ता प्रक्रियामा ढिलाई भएको बताउनु भयो । उहाँका अनुसार ल्यावहरुको सञ्चालन अनुमति लिनको लागि केहि ल्याबहरुले निबेदन दिएपनि जनप्रतिनिधि नयाँ आएकाले दर्ता प्रक्रियामा ढिलाई भएको भन्दै अव केहि दिन भित्रमा समिति बनाई दर्ता प्रक्रिया अगाडी बढाउने बताउनु भयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय मुकाम बुटवलका प्रमुख विनोद कुमार गिरीले हालसम्म ५ वटा ल्याबले मात्र सि वर्गको ल्याब सञ्चालन स्वीकृती लिएको बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवल र बुटवल उपमहानगरपालिकाले दिएको जानकारी अनुसार अधिकांश प्रयोगशाला दर्ता प्रक्रियाका साथै नविकरणको सुचिमा नहुनुको अर्थ धेरै जसो प्रयोगशाला गैरकानुनी रुपमा सञ्चालनमा रहेका छन् भनेर बुझ्न सकिन्छ । तसर्थ ल्यावहरुको अनुगमनमा कडाई गरेर दर्ता प्रक्रियालाई सहज बनाएर सवै ल्याबहरु दर्ता गर्न बातावरण मिलाउन सके मात्र सरकारी राजश्व तथा स्थानिय पालिकाहरुको पनि राजश्व बुद्धि हुनुका साथै सेवाग्राहीहरुले पनि गुणस्तरीय ल्याव रिर्पोट पाउने थिए ।