सिकलसेल र अटिजम नियन्त्रणमा रोटरी तिलोत्तमा रुपन्देहीको नयाँ कार्यक्रम

110

सिकलसेल र अटिजम नियन्त्रणमा रोटरी तिलोत्तमा रुपन्देहीको नयाँ कार्यक्रम

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले स्वास्थ्य र शिक्षा क्षेत्रका प्रमुख तीनवटा योजना अगाडि सारेको छ । क्लवले रोटरी वर्ष २०२२/२३ को लागि स्वास्थ्य क्षेत्रमा थारु समुदायमा देखिएको सिकलसेल नियन्त्रण तथा रोकथामको लागि जनचेतनामुलक कार्यक्रम र बालबालिकामा हुने अटिजम विरुद्ध चेतनामुलक कार्यक्रम सञ्चालन गरिने क्लवका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराउनु भयो ।
त्यसको लागि क्लवका सदस्य समेत रहेका डा. नन्दु पाठक र डा. सतिस रुपाखेतीले सहयोग गर्नुहुनेछ । पिछडिएको क्षेत्रमा रहेको सरकारी जिर्ण विद्यालयको शैक्षिक स्तर बृद्धिको लागि क्लवले सञ्चालन गर्दै आएको विद्यालय रंगरोगन कार्यक्रमलाई निरन्तरता दिईने छ । क्लवले होलीको अवसरमा त्यस्ता सरकारी विद्यालयमा रंगरोगन कार्यक्रम सञ्चालन गर्दै आएको छ । बिहिबार साँझ आयोजना गरिएको क्लवको १२ औं पदहस्तान्तरण कार्यक्रममा क्लवका नवनिर्वाचित अध्यक्ष भण्डारीले त्यस्तो विद्यालय खोजी गरी विद्यालयमा रंगरोगन तथा त्यहाँका आवश्यकताको आधारमा अन्य शैक्षिक कार्यक्रम समेत गरिने बताउनु भयो । क्वलले विद्यालय रंगरोगन कार्यक्रमको लागि तिलोत्तमा नगरपालिका छनौट गरेको छ भने विद्यालय छनौट गरिनसकेको उहाँले बताउनु भयो ।
त्यस्तै क्लवले सञ्चालन गर्दै आएका अन्य कार्यक्रमहरुलाई पनि निरन्तरता दिईने र रोट्रयाक्ट, ईन्ट्रयाक्ट र स्पोन्सर क्लव तथा क्लवले सञ्चालन गरेको आरसीसी सैनामैना संग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । हाल क्लवमा ४९ जना सक्रिय सदस्य रहेको र सक्रिय हुन नसकेको सदस्यहरुलाई कसरी सक्रिय बनाउन सकिन्छ त्यसको समेत खोजी गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले समाजसेवामा रोटरी क्लवको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकारले गर्नुपर्ने काम क्लवले गरेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, गरिबी निवारण, महिला ससक्तिकरणको लागि जनचेतना अभिबृद्धिमा क्लवले उल्खनीय योगदान गरेको बताउँदै उहाँले तिलोत्तमा नगरपालिकालाई फोहोरमुक्त नगरपालिका र उद्यमशिल नगरपालिका बनाउन चाहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख खाँणले पूर्ववर्ती सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिईने भनाई राख्नुभयो ।
पद हस्तान्तरण गर्दै क्लवका वर्ष २०२१/२२ का अध्यक्ष विष्णुप्रसाद चापागाइँले क्लवले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहेने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा रोटरी डिष्ट्रिका ईनकमिङ् एजी राजु खरेल, एजी देवी गुरुङ, रोटरीका न्यू कलव कमिटि चियर एजाज आलम लगायतले कार्यक्रम सञ्चालन गर्दा क्लवको आवश्यकता भन्दा पनि जहाँ कार्यक्रम सञ्चालन गरिन्छ, त्यो समुदायको आवश्यकताको आधारमा गर्न सुझाव दिनुभयो ।
त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु गोपाल ज्ञवाली, कृष्णप्रसाद शर्मा, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनका अध्यक्ष सरोज खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका नवनिर्वाचित सचिव शंकर पाण्डे र निवर्तमान सचिव निराजन पोखरेलको सञ्चालनमा भएको थियो ।