बुटवलको लुम्बिनी वाणिज्य क्यामपसमा डिजिटल लाईब्रेरी र एचआर ल्याव उद्घाटन

185

बुटवलको लुम्बिनी वाणिज्य क्यामपसमा डिजिटल लाईब्रेरी र एचआर ल्याव उद्घाटन

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाईब्रेरी र ह्यूमन रिसोर्स डेभलपमेन्ट (एच.आर.) ल्यावको उद्घाटन गरिएको छ ।
२०३८ सालमा स्थापित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद १२ औं सभामा त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्राध्यापक डा. पेसल दाहालले डिजिटल लाईब्रेरी र एच.आर. ल्यावको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै रजिष्टार दाहालले म्यानेजमेन्टमा उच्चस्तरको प्रगति गरेको लुम्बिनी वाणिज्य क्याम्पसप्रति सबैले गर्व गर्नुपर्ने बताउनु भयो ।
मानित (ड्रिम) विश्वविद्यालयमा जाने निर्णयसंगै त्रिभूवन विश्वविद्यालयका कार्यक्रम छाड्दै जाँदा पछि अफ्ठ्यारो पर्न सक्ने भन्दै उहाँले त्यसतर्फ समयमै ध्यान दिन सुझाव दिनुभयो । यद्यपी मानित विश्वविद्यालयमा जाने निर्णयमा टियुले कुनै प्रकारको हस्तक्षप नगर्ने र मानितमा नजाँदासम्म टियुका कार्यक्रम नछोड्न आग्रह गर्नुभयो । ‘मानित विश्वविद्यालयमा जाने निर्णयमा हाम्रो कुनै प्रकारको हस्तक्षप हुँदैन ।’ उहाँले भन्नुभयो–‘तर यता शैक्षिक कार्यक्रमहरु छोड्दै जाने र उता जान सकिएन भने के हुन्छ ? विचार गर्नुहोला ।’

त्यस्तै लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसका प्राध्यापक तथा विद्यार्थीलाई अनुसन्धानमुखि अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्नको लागि एच.आर. ल्याव र डिजिटल लाईब्रेरी स्थापना गरिएको बताउंदै क्यम्पसले हासिल गरेका उपलब्धिहरु र भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
अहिले सो क्याम्पस मानित विश्वविद्यालयको अवधारणामा अगाडि बढेको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले मानित विश्वविद्यालय स्थापनाको लागि बुटवल उपमहानगरपालिका वडा नं. १२ मा चारपाला सामुदायिक बनको २० हेक्टर (करिव ३० विगाहा) जग्गा प्राप्तीको चरणमा रहेको जानकारी गराउनु भयो । त्यसको लागि दुई पक्ष बिच सहमति पत्रमा हस्ताक्षर गरी संघीय सरकारलाई सिफारिस भईसकेको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्राध्यापक डा. डिल्लीराज शर्मा, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापाइँ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु राजेन्द्र वझा, अर्जुनमान सैंजु, सञ्चालक समिति सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, क्याम्पस प्रमुख डा. तारा उपाध्यायले बुटवलमा वाणिज्य क्षेत्रमा आवश्यक जनशक्ति परिपूर्तिको लागि क्याम्पस स्थापना गरिएको र यसले यस क्षेत्रका उद्योगी व्यवसायीलाई जनशक्ति परिपूर्तिमा सहज भएको भनाई राख्नुभएको थियो ।