आँखा स्वास्थ्यसंगै ‘मधुमेह विरुद्ध’ लायन्स क्लव अफ बुटवल

228

आँखा स्वास्थ्यसंगै ‘मधुमेह विरुद्ध’ लायन्स क्लव अफ बुटवल

आँखा स्वास्थ्यमा काम गरिरहेको लायन्स क्लव अफ बुटवलले मधुमेह (डायविटिज) विरुद्धको (लायन्स डायविटिज प्रोग्राम) अभियान पनि सुरु गरेको छ । क्लवले आँखा स्वास्थ्यसंगै मधुमेह विरुद्धको अभियान सुरु गरेको हो । लायन्स इन्टरनेशनलले आँखा, मधुमेह, पर्यावरण, भोक निवारण, विपद्, दादुरा, पेडियाट्रिक क्यान्सर तथा युवा सचेतनालाई ग्लोवल कजको रुपमा अगाडि बढाएको छ । त्यसमध्ये लायन्स इन्टरनेशनलले अहिले मधुमेहलाई पहिलो प्राथमिकतामा राखेको छ ।
विश्वमै तिब्र रुपमा बढिरहेको मधुमेह दक्षिण एसियाका देशहरुमा अझै बढी रहेको कारण त्यसको विरुद्ध जनचेतना विस्तार गरि न्यूनिकरणको लक्ष सहित लायन्सले मधुमेह विरुद्धको अभियानलाई प्राथमिकतामा राखेको हो । त्यस्तै नेपालमा पनि मधुमेहको समस्या झनझन बढीरहेको र त्यसका विरुद्ध जनचेतना विस्तार गरी न्यूनिकरण गर्नको लागि क्लवले पनि पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरिएको क्लवका अध्यक्ष महेश श्रेष्ठले बताउनु भयो ।
क्लवका अध्यक्ष श्रेष्ठका अनुसार क्लवले मधुमेह कार्यक्रम संगसंगै अरु कार्यक्रमहरुलाई पनि संगसंगै अगाडि बढाउने छ । लायन्स डायविटिज प्रोग्राम सञ्चालनको लागि क्लवका तृतीय उपाध्यक्ष प्रतिक पोखरेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । अभियान अन्तरगत क्लवले प्रत्येक शनिबार निःशुल्क मधुमेह परीक्षण, प्रत्येक महिनाको दोस्रो शनिबार मधुमेहको निःशुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने संयोजक पोखरेलले जानकारी गराउनु भयो । सो कार्यक्रममा मधुमेह रोग विशेषज्ञ डा. किरण आचार्यले विरामीको चेकजाँच तथा परामर्श सेवा प्रदान गर्नुहुनेछ । उक्त कार्यक्रममा पोषण विशेषज्ञद्वारा पोषण परामर्श समेत प्रदान गरिने छ ।
गरिव तथा विपन्न परिवारका मधुमेहका विरामीलाई वडाको सिफारिसमा औषधि निःशुल्क वितरण गरिने छ । त्यस्तै लायन्स डायविटिज प्रोग्राम अन्तरगतका ओपिडि कार्ड लिएका विरामीलाई ओपिडि कार्डका आधारमा औषधिमा छुट प्रदान गरिने छ । त्यस्तै आवश्यकता अनुसार निःशुल्क मधुमेह शिविर सञ्चालन गरिने छ ।
मधुमेहका कारण शरीरका अन्य धेरै अंगहरुमा पनि असर गर्दछ । मधुमेहबाट बँच्नको लागि सञ्चालन गरिएको अभियान अन्तरगत मधुमेहका कारण उत्पन्न मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम संयोजक पोखरेलले जानकारी गराउनु भयो ।
यो अभियान सञ्चालन गर्दा २ हजार जनालाई सेवा प्रदान गर्ने र त्यसको लागि २८ लाख रुपैंया बजेट अनुमान गरिएको छ । आँखा स्वास्थ्यको लागि बुटवलमा लायन्स आँखा अस्पताल सञ्चालन गरेको लायन्स क्वल अफ बुटवलले लायन्स मधुमेह अस्पताल बनाउने पनि लक्ष्य लिएको छ ।