बुटवल, पुस ।नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जातीय राजनीतिको बिउ रोप्ने माओबादीका कारण मुलुक यो अप्ठ्यारोमा पुगेको बताएका छन् । उनले जातीय राजनितिको बिषकै कारण अहिले मधेश अशान्त रहेको बताए । नेकपा एमाले लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा भएको अञ्चलस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले पहाडमा जनजातीलाई र तराईमा मधेशी भावनाको जातीय विउ रोपेकै कारण मुलुकमा असहज अवस्था आएको बताए । उनले पहिलो संविधानसभाको निर्वाचनपछि एमाओवादीले बर्गिय राजनिति छाडेर जातीय राजनिति गरेकै कारण अहिले मुलुकमा असहज अवस्था आएको बताए । उनले जातीय राजनितिको बिष साम्य पार्नका लागि एमालेले अभियान चलाउनुपर्ने धारणा राखे ।
उनले भने ‘जातीय राजनितिको बिष अन्त्यका लागि पहाडमा जनजातीका नेता, तराईमा मेधेशका नेता कार्यकर्ताहरुले अगुवाइ गर्ने बेला आएको छ ।’ उनले जातीय राजनितिले रुवान्डामा युद्धनै भएको स्मरण गर्दै अब पनि जातीय कुरा गर्ने हो भने हाम्रो पनि हालत त्यस्तै हुनसक्ने चेतावनी दिए ।
‘कम्यूनिष्ट पार्टीको राजनिति त झन बर्गिय हो’ उनले भने –‘माहोल बिग्रिएको छ, अब सुधार गर्ने र सहि ट्रयाकमा ल्याउने काम एमालेले गर्नुपर्छ ।’
एमाओवादीले जातीय राज्य भनेकै कारण आज मेधश र पहाड विच ठूलो द्धन्द्ध र मनमुटाव भएको भन्दै जातीय भडकाउले कसैलाई हित नगर्ने नेपालको भनाई छ ।
पछाडि पारिएका जाती, समुदायमा जातीय भावना आउनु स्वभाविक भएको भन्दै उनीहरुको भावनासँग केहि सिमिति नेताहरुले खेलीरहेको उनले बताए ।
‘अब मधेशी जनतासँग पुगेर संविधानको बारेमा बुझाउनुपर्छ’ उनले भने–‘त्यसको लागि अब तराईमा एमालेका कार्यकर्ताले प्रभावकारी भूमिका खेल्नुपर्यो ।’
उनले लुम्बिनी अञ्चलको पहाडी जिल्लामा भन्दा पनि रुपन्देही, कपिलबस्तु र नवलपरासीमा मधेशी समुदायका समस्याका बारेमा मधेशी नेता कार्यकर्ताहरुले अभियान सञ्चालन गर्नुपर्ने खाँचो औल्याए ।
उनले तीन जिल्लामा अभियान सञ्चालन गर्न समेत निर्देशन दिए । एमालेले संविधान निर्माण पछि मधेशमा देखिएको समस्याका बारेमा दैशैभर कार्यकर्ता भेला गर्दै हिडेको छ ।
अञ्चल स्तरीय भेलामा एमाले महासचिव इश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली,गोकर्ण बिस्ट, पूर्ब उर्जामन्त्री राधा ज्ञवाली लगायतका नेताहरुको उपस्थिती थियो ।