फार्मेसी संघ रुपन्देहीको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

183

फार्मेसी संघ रुपन्देहीको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

नेपाल फार्मेसी संघ रुपन्देहीले सचिवालय व्यवस्थापनलाई प्राथमिकता दिएको छ । व्यवसायिक एकता र उनीहरुको पेशागत हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिएको हो ।
संघको सम्पन्न वार्षिक कार्ययोजना गोष्ठीले जिल्ला शाखाको सचिवालय व्यवस्थापन, व्यवसायिक एकता, पेशागत हकहित तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको हो ।
गोष्ठीमा सामाजिक उत्तरदायित्व तथा सामाजिक सम्वन्ध, संगठन तथा सदस्यता विस्तार, भेला, प्रशिक्षण तथा क्षमता अभिबृद्धि, संस्थाको स्रोत व्यवस्थापन तथा कोष बृद्धि लगायतका विषयमा छलफल भएको थियो । गोष्ठीमा छुट्टाछुट्टै विषयमा समुहगत छलफल गरि प्राथमिकता निर्धारण गरिएको संस्थाका महासचिव उदयबहादुर खत्रीले जानकारी गराउनु भयो ।

गोष्ठीमा बोल्दै संघका अध्यक्ष गणेशप्रसाद सेढाईले गोष्ठीबाट आएका कुरालाई प्राथमिकताका आधारमा कार्यसमितिले कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थामा आवद्ध सदस्यहरु फरक फरक प्रकृतिका काममा रहेको र कामका प्रकृति अनुसार अवसर र उनीहरुका समस्या पनि फरकफरक हुने भएकाले सम्बन्धित विभागका समस्या पहिचान र समाधानका उपायहरुको खोजी गर्नको लागि पनि विभागीय संयोजकहरुलाई आग्रह गर्नुभयो । विभागीय प्रमुखहरुले दिएका सुझाव सल्लाह अनुसार संस्थाले काम गर्ने उहाँको भनाई थियो ।
संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले कार्यशाला गोष्ठीले तय गरेका कार्यक्रमहरु प्राथमिकताको आधारमा सञ्चालन गर्न आग्रह गर्दै जिल्लाका कार्यक्रममा केन्द्रको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यशाला गोष्ठीमा प्रशिक्षक मुकुन्द ज्ञवालीले नेतृत्व सीप विकास तथा योजना तर्जुमाका विषयमा प्रशिक्षण गर्नुभएको थियो भने फार्मासिष्ट धर्मराज भट्टराई र खिमबहादुर पौडेलले गोष्ठीमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रम टुकलाल सापकाेटाकाे संयाेजकत्वमा भएकाे थियाे ।