लायन्स क्लव अफ बुटवलले मधुमेह (डायविटिज) विरुद्धको अभियान सुरु गरेको छ । साउनको पहिलो शनिबारदेखि निःशुल्क मधुमेह परीक्षण शुरु गरेको क्लवले दोस्रो शनिबार (साउन १४ गते) देखि निशुल्क मधुमेश चेकजाँच तथा परामर्श सेवा शुरु गरिएको हो ।
मधुमेह विरुद्ध अभियान सञ्चालन गरेको क्लवले प्रत्येक शनिबार निःशुल्क मधुमेह परीक्षण तथा महिनाको दोस्रो र अन्तिम शनिबार विरामीलाई निःशुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने छ ।
आँखा स्वास्थ्यमा काम गरिरहेको लायन्स क्लव अफ बुटवलले यो वर्षदेखि आँखा स्वास्थ्य सँगै मधुमेहलाई प्राथमिकतामा राखेको हो । लायन्स इन्टरनेशनलले आँखा, मधुमेह, पर्यावरण, भोक निवारण, विपद्, दादुरा, पेडियाट्रिक क्यान्सर तथा युवा सचेतनालाई ग्लोवल कजको रुपमा अगाडि बढाएको छ । त्यसमध्ये लायन्स इन्टरनेशनलले अहिले मधुमेहलाई पहिलो प्राथमिकतामा राखेको छ ।
विश्वमै तिब्र रुपमा बढिरहेको मधुमेह दक्षिण एसियाका देशहरुमा अझै बढी रहेको कारण त्यसको विरुद्ध जनचेतना विस्तार गरि न्यूनिकरणको लक्ष सहित लायन्सले मधुमेह विरुद्धको अभियानलाई प्राथमिकतामा राखेको हो । त्यस्तै नेपालमा पनि मधुमेहको समस्या झनझन बढीरहेको र त्यसका विरुद्ध जनचेतना विस्तार गरी न्यूनिकरण गर्नको लागि क्लवले पनि पहिलो प्राथमिकतामा राखेर अभियान सुरु गरिएको क्लवका अध्यक्ष महेश श्रेष्ठले बताउनु भयो । क्लवका अध्यक्ष श्रेष्ठका अनुसार क्लवले मधुमेह कार्यक्रम संगसंगै अरु कार्यक्रमहरुलाई पनि संगसंगै अगाडि बढाउने छ ।
अभियानका संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष प्रतिक पोखरेलले अभियानको थालनी भएको र यो वर्षभरी मधुमेहलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन हुने बताउनु भयो । अभियान अन्तरगत क्लवले प्रत्येक शनिबार निःशुल्क मधुमेह परीक्षण, प्रत्येक महिनाको दोस्रो शनिबार मधुमेहको निःशुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने छ । त्यस्तै गरिव तथा विपन्न परिवारका मधुमेहका विरामीलाई वडाको सिफारिसमा निःशुल्क औषधि वितरण गरिने छ । लायन्स डायविटिज प्रोग्राम अन्तरगतका ओपिडि कार्ड लिएका विरामीलाई ओपिडि कार्डका आधारमा औषधिमा छुट प्रदान गरिने छ । त्यस्तै आवश्यकता अनुसार निःशुल्क मधुमेह शिविर सञ्चालन गरिने छ ।
मधुमेहका कारण शरीरका अन्य धेरै अंगहरुमा पनि असर गर्दछ । मधुमेहबाट बँच्नको लागि सञ्चालन गरिएको अभियान अन्तरगत मधुमेहका कारण उत्पन्न मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने छ । अभियान अवधिभरमा क्लवले २ हजार जना भन्दा बढीलाई सेवा गर्ने लक्ष्य लिएको छ ।