नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : रुपन्देहीमा खेलाडिलाई बन्द प्रशिक्षणको तयारी

95

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : रुपन्देहीमा खेलाडिलाई बन्द प्रशिक्षणको तयारी

रुपन्देही जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलाडिलाई प्रशिक्षणको तयारी गरिएको छ । जिल्ला खेलकुद विकास समितिको बैठकले लुम्बिनी प्रदेश खेलकुद परिषदसंग समन्वय गरी यहि साउन २५ गते बुधबार देखि भदौ ५ गतेसम्म बन्द प्रशिक्षण गर्ने निर्णय गरिएको बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएका ३६ वटा विधाका खेलमध्ये रुपन्देहीमा खेलिने खेलका लागि अस्थायी प्रशिक्षक नियुक्त गरेर भएपनि खेलाडिलाई प्रशिक्षण गर्ने समितिले तयारी गरेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षेत्री (हरी)ले बताउनु भयो । त्यस्तै तोकिएको मापदण्ड पुरा भएको खण्डमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि मेडल प्राप्त गर्ने प्रशिक्षकलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिने छ भने स्थायीका लागि प्रदेश र संघमा पहल गरिने उहाँले जानकारी गराउनु भयो ।
हाल रुपन्देही जिल्ला खेलकुद विकास समितिमा एक जना कार्यालय प्रमुख र तेक्वाण्डोमा २ जना, कराँतेमा ३ जना तथा हेण्डबलमा एक जना स्थायी प्रशिक्षक छन् । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रुपन्देही जिल्लाबाट करिव २८ विधामा १५० भन्दा बढी खेलाडि सहभागि हुने पनि अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
त्यस्तै जिल्ला भित्र छरिएर रहेका खेलसम्बन्धि संस्था तथा क्लवहरुलाई एउटै छातामुनी ल्याएर व्यवस्थित गर्नको लागि दर्ता प्रकृयाको थालनी गरिएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष क्षेत्रीका अनुसार त्यसरी खेलकुद विकास समितिमा दर्ता हुन आउने खेलसम्बन्धि संस्थालाई १० हजार रुपैंया र क्लवलाई ५ हजार रुपैंया शुल्क तोकिएको छ ।