डेंगु नियन्त्रणका लागि बुटवलमा ‘खोज र नष्ट गर’ अभियान सुरु

121

डेंगु नियन्त्रणका लागि बुटवलमा ‘खोज र नष्ट गर’ अभियान सुरु

डेंगु रोगको संक्रमण बढ्दै गएपछि बुटवलमा डेंगु सार्ने लामखुट्टे र त्यसको बासस्थान खोज र नष्ट गर अभियान सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्ने खोज र नष्ट गर अभियानको बुधबार नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभएको हो ।
नगरपालिकाका जनप्रतिनीधिहरुको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वयम्सेविका सुरक्षा निकायका प्रतिनीधिहरुको सहभागितामा अभियान शुरु गरिएको हो । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले डेंगुको महामारीबाट रोक्नको लागि साथ सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । खोज र नष्ट गर अभियानमा लामखुट्टे बस्ने बासस्थान तथा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गरिने छ ।
बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको नगरप्रमुख पाण्डेयले जानकारी गराउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले डेंगु रोग नियन्त्रणमा नगरपालिका लागिरहेको र नगरपालिकाको अभियानमा साथ सहयोग गर्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, २, ३, ४, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र अन्य सम्भावित क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको जानकारी गराउनु भयो ।

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गर्नुभएको थियो ।
त्यस अवसरमा उहाँले रुपन्देही जिल्लामा चालु आर्थिक वर्षको हालसम्म २६९ जनामा डेंगु संक्रमण भईसकेको जानकारी गराउनु भयो । डेंगुकै कारण रुपन्देही जिल्लामा २०६७/६८ मा ४ जना, २०७३/७४ मा २ जना, २०७४/७५ मा २ जना र २०७६/७७ मा ३ जनाले ज्यान गुमाएका छन् । २०७६/७७ मा रुपन्देहीमा डेंगुले महामारीको रुप लिएका थियो ।
डेंगु संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । यो जातको लामखुट्टे स-साना सफा पानी जम्ने स्थानमा फूल पार्ने र प्राय दिउँसोमा टेक्ने गर्दछ । एककासी ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग, ढाड जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा विमिरा आउने, रक्तश्राव यसका लक्षणहरु हुन् ।
सामान्यतया डेंगु ज्वरोको अवधि ४ देखि ७ दिनसम्मको हुन्छ । तर कहिलेकाँही ३ देखि १४ दिनसम्म पनि रहनसक्ने शाह बताउनु हुन्छ । डेंगु ज्वरो विषाणुका कारणबाट हुने भएकाले यसको खास उपचार छैन ।
सामान्यतया यो जातको लामखुट्टेको अण्डा १ वर्षसम्म बाँच्न सक्छ । संक्रमित लामखुट्टेले अण्डा पारेमा उक्त अण्डा पनि भाईरस संक्रमित हुन्छ । यो लामखुट्टे चिसो तथा छायाँ परेको ठाउँमा बस्न मन पराउँछ । यसको लागि १६ देखि ३० डिग्रि सेलसियस तापक्रम उपयुक्त हुन्छ । यो तापक्रममा यो जातको लामखुट्टे ३० दिनसम्म बाँच्न सक्छ ।