लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवनिर्मित प्रसुति भवन उद्घाटन

188

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवनिर्मित प्रसुति भवन उद्घाटन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नव निर्मित प्रसुति भवन उद्घाटन गरिएको छ । उक्त भवनको बुधबार आयोजना गरिएको कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गर्नु भएको हो ।
त्यस अवसरमा बोल्दै शहरी विकास मन्त्री चौधरीले भवनको निर्माणसँगै नागरिकले छिटो छरितो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् भन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यस किसिमको व्यवस्थापकीय भूमिका निर्वाह गर्न पनि अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले नागरिकको स्वास्थ्य र शिक्षामा सरकारले धेरै ठूलो धनराशी खर्च गरेको बताउनु भयो । उहाँले पछिल्ला दिनमा नसर्ने र घातक रोगहरु बढीरहेको बताउँदै त्यस्ता कतिपय रोगको उपचारमा सहायता प्रदान गरेको र लाभ लिन आग्रह गर्नुभयो । पछिल्लो समयमा कोभिड संक्रमणको दर पुन बढ्दै गएको बताउँदै त्यसलाई रोक्नको लागि सबै सचेत हुनेपर्ने भनाई राख्नुभयो । सरकारले गरेको तयारीकै कारण अव बेड र उपचार नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने भनाई राख्नुभयो ।
उहाँले कोभिडको दोस्रो भेरियन्टले धेरै मानिसको ज्यान लिएको बताउँदै त्यसमा ७५ प्रतिशत खोप नलगाएका र बाँकी २५ प्रतिशत मध्ये पनि धेरै दीर्घरोगी रहेको बताउनु भयो ।
करिव २६ हजार स्क्वायर फूट क्षेत्रफलमा निर्माण गरिएको ४ तले उक्त भवन साडे २६ करोड बढी लागतमा निर्माण सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालय माफर्त २०७५ सालमा शहरी विकास मन्त्रालयले ठेक्केदार कम्पनीसँग निर्माण सम्झौता गरेको थियो । आयोजनाका प्रमुख रमेश सिंहका अनुसार ४ तले भुकम्प प्रतिरोधी उक्त भवनमा स्त्री तथा प्रसुती र बालरोग सहित नर्सिङ क्वाटर, मेन्टिनेन्स विभाग पनि राखिएको छ । त्यस्तै अपांगमैत्री भ¥याङ, लिफ्ट र ईमर्जेन्सी एक्जिट राखिएको छ ।
शहरी विकास मन्त्रालय भवन निर्माण महाशाखाका महानिर्देशक सुरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्त्रण कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले मन्त्रालयले आवास, शहरलाई व्यवस्थित गर्ने र सरकारी विल्डिङ बनाउने तीनवटा काम गर्ने जानकारी गराउनु भयो । उहाँले मन्त्रालयले स्वास्थ्य तथा शिक्षाका भवन निर्माण गरेर हस्तान्त्रण गरेपनि कतिपय स्थानमा भवनको प्रयाग नहुँदा धर्मशाला जस्ता भएका उल्लेख गर्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले लुम्बिनी प्रादेशिक अस्पताल पछिल्लो सयमा गुणस्तरीय स्वास्थ्य सेवामा राम्रो फड्को मारेको बताउँदै यसलाई संघ मातहत राख्न मन्त्रीहरुलाई सुझाव दिनुभयो ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस क्षेत्रको स्वास्थ्य सेवा अस्पतालको योगदान बढी नै रहेको बताउँदै स्वास्थ्य सुरक्षाका हिसावले खुला सिमा चुनौतीको रुपमा रहेको भनाई राख्नुभयो । रुपन्देही ६० किलोमिटर खुला सिमा रहेकाले यहाँको स्वास्थ्य निगरानीमा संयन्त्रहरुलाई चलायमान बनाईराख्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
त्यस अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा विकास कार्यक्रम सञ्चालन गरेको बताउँदै प्रसुति तथा बाल रोग लक्षित उक्त भवन निर्माणले अस्पतालले दिने सेवामा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालले रुपन्देही सहित आसपासका १३ जिल्लाका जनतालाई सेवा प्रदान गरिरहेको बताउँदै अस्पतालको स्वास्थ्य सेवामा बृद्धि भएको गुणस्तरका कारण दिनप्रतिदिन बिरामीको संख्या बढ्दै गएको जानकारी गराउनु भयो । उहाँले अस्पतालमा अहिले ५८० बेड सञ्चालन भईरहेको बताउँदै बिरामीको चाप अनुसार जनशक्ति र पूर्वाधार तथा सेवामा बृद्धि गर्न सकिएन भने सेवाको गुणस्तरमा पनि ह्रास आउने बताउँदै त्यसको व्यवस्थापनमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।