माओवादीले गर्यो स्वायत्त अवध प्रदेश घोषणा

1.3K

माओवादीले गर्यो स्वायत्त अवध प्रदेश घोषणा

biplabb

बुटवल पुष ।विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य तथा क्रान्तीकारी केन्द्रिय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढा मगरले संघर्षको स्वरुप शसस्त्र वा शान्तिपूर्ण जस्तो पनि हुन सक्ने बताएका छन् ।

अवध स्वायत्त प्रदेश घोषणा पछि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका पश्चिम व्यूरो ईन्चार्ज समेत रहेका बुढा मगरले जनताको अधिकार माग्दा नदिने र उल्टै जनतासँग मुडभेड गर्न आएमा लडाई हुन सक्ने बताएका हुन् ।
मगरले ‘सरकारले जनताको अधिकारहरुको ग्यारेन्टी गर्न नसक्ने र उल्टै भारतसँग लम्पसार पर्न जाने अनी जनतालाई शास्ती दिने काम गरेपछि हामी बाध्य भएर सत्ता व्युत्याएका हौंँ । जनसरकारले आफ्नै ढंगले कारबाही अगाडी बढाउँछ ।’ बुढाले थपे ‘हामी अहिले संगठन विस्तारमा छौं, जनतालाई हाम्रा विरुद्धमा भएका षडयन्त्रको भण्डाफोर गरे छौं, तल्लो निकायसम्म हामी स्वायत्त जनसरकार तथा जनपरिषद् घोषणाको तयारीमा छौं ।
मगरले आफ्नो पार्टीलाई राजतन्त्रको पुर्नवहालीको लागी भनेर लागेको आरोपको खण्डन गर्दै १० वर्षसम्म लडेर राजतन्त्र अन्त्य गर्ने आफूहरु रहेको र आफ्नो लडाई अहिले जनताको अधिकार स्थापित गर्नको लागी भएकोले अनर्गल प्रचार नगर्न समेत आग्रह गरेका थिए ।
‘पूर्व देखी पश्चिमसम्म जनस्तरमा पार्टीका आगामी कार्यक्रम र जनप्रतिनीधि सभा आयोजना गर्दै स्वायत्त प्रदेशहरुको घोषणा गर्दै अगाडी बढेको पार्टीले, भ्रष्टचारीहरुलाई जनकारबाही बढाएको, क्रान्तीकारीहरुलाई एकताबद्ध गरेको लगायत संगठन विस्तारमा पार्टी लागेको छ’ बुढाले भने ।
१९ हजार जनसेनामध्ये समायोजन नभएका लडाकुहरु सबै आफ्नो पार्टीमा रहेको जिकिर गर्दै बुढाले आवश्यक परेमा जतिबेला पनि युवाहरु हतियार उठाउन तयार रहेको बताए । ‘युवा हामीसँग छन्, हतियार हाम्रो दिमागमा छ, ०५२ सालमा एउटा राईफल बाट युद्ध भएको भन्दै आवश्यक परेमा हतियार आफैं आउछन्, संघर्ष शान्तिपुर्ण हुन्छ तर सरकारले गोली चलायो भने हातले छेक्ने कुरा भएन, आक्रमणमा प्रत्याक्रमण चाहीँ हुन्छ,’ बुढाले भने ।
 क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा रुपन्देहीका ईन्चार्ज प्रकाश डुम्रेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द, रुपन्देही सेक्रेटरी शरद ओली, कपिलवस्तु सेक्रेटरी संगम पुन, नवलपरासी सेक्रेटरी पदम केसी लगायतको उपस्थिती रहेको थियो ।
माओवादीले घोषणा गर्यो अवध स्वायत्त प्रदेश :-
नेकपा माओवादीले समानान्तर सत्ता सञ्चालनको अभ्यास अन्तर्गत देशव्यापी  जनसत्ता  एवंम जनपरिषद् घोषणा गरिरहँदा आजरुपन्देहीको बुटवलमा जनप्रतिनिधी सभा मार्फत अवध स्वायत्त प्रदेशको प्रथम अधिवेशन सम्पन्न गरेको छ  । रुपन्देही, नवलपरासी र कपिलवस्तु तीन तराईका जिल्लालाई अवध स्वायत्त प्रदेश घोषणा गर्दै अधिवेशन सम्पन्न गरेको हो ।
 अधिवेशनमा बोल्दै पार्टी पोलिट्व्यूरो सदस्य तथा क्रान्तिकारी जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढा मगरले स्वायत्त प्रदेशले हिजो १० वर्षे शसस्त्र विद्रोहको क्रममा जस्तो महत्वपूर्ण भूमिका खेलेको थियो त्यस्तै भूमिका अहिले पनि खेल्ने बताए ।
उनले, जनपरिषद् तथा स्वायत्त प्रदेशको आफ्नै नीति नियमहरु रहने भन्दै त्यो छिट्टै सार्वजनिक गर्ने बताए । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्दले, पार्टीले गति लिईसकेको भन्दै आम कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्रममा कपिलवस्तु सेक्रेटरी संगम पुन, नवलपरासी सेक्रेटरी पदम केसी, रुपन्देही सेक्रेटरी शरद ओली लगायतले बोलेका थिए ।
 तीन जिल्लाको संरचनामा निर्मित राज्यबाट सहभागी जनप्रतिनिधी सभाले ५१ सदस्यीय प्रतिनिधी सभा घोषणा गरेको छ, जसको अध्यक्षमा बसन्ती जिसीलाई चयन गरेको छ  ।
त्यस्तै सभाले १५ सदस्यीय अवध प्रादेशिक जनपरिषद् घोषणा गरेको छ जसको प्रमुखमा रुपन्देहीका नाथुराम थारु र उपप्रमुखमा नवलपरासीका चैत्रराम मुसीहार रहेका छन् ।
 माओवादीले १० वर्षे जनयुद्धमा पनि यस्तै प्रदेशहरु घोषणा गर्ने गरेको थियो । यसभन्दा अगाडी अवध–मधेस प्रदेशमा नामाकरण तीन जिल्लालाई अवध प्रदेश घोषणा गरेको हो ।
माओवादीले देशभरका सबै जिल्लामा जनपरिषदको घोषणा सगै  पुराना राज्य सरँचनाको आधारमा स्वायत्त प्रदेश समेत घोषणा गर्दै आएको छ । थारु स्वायत्त प्रदेश,मगरात स्वायत्त प्रदेश,तामसालिङ स्वायत्त प्रदेश लगाएतका कतिपय प्रदेश हरु स्वायत्त घोषणा गर्दै आएको माओबादीले मेचि देखि महाकालि सम्मको मध्य भाग तथा पश्चिम ब्युरोको महत्बपुर्ण राज्य अबध लाई स्वायत्त घोषणा गरेको हो ।