बुटवलमा स्वास्थ्य अनुसन्धान प्रस्तावना लेखन तालिम सुरु

68

बुटवलमा स्वास्थ्य अनुसन्धान प्रस्तावना लेखन तालिम सुरु

बुटवलमा स्वास्थ्य अनुसन्धान प्रस्तावना लेखन तालिम सुरु भएको छ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको सहयोग तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल पब्लिक हेल्थ एसोशियसन लुम्बिनीको आयोजनामा भएको तीन दिने तालिममा ३५ जना स्वास्थ्य प्राविधिक सहभागि छन् ।
तालिमको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले नीति निर्माणमा अनुसन्धानको ठूलो महत्व रहेको बताउँदै अनुसन्धानकै अभावमा नीति, कार्यक्रम र बजेटको तारतम्य नमिलेको भनाई राख्नुभयो ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्कारी प्रमुख डा. प्रदिप ज्ञवालीले परिषदले रिसर्चको क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै अनुसन्धानको संख्या घटेपनि गुणस्तरीय अनुसन्धानको दर बढेको बताउनु भयो । आफै अनुसन्धान गर्ने, गराउने र रिसर्चको क्षेत्रमा काम गर्न चाहनेलाई मापदण्ड पुरा गरेर स्वीकृति प्रदान गर्ने तथा नीतितग तहमा सरकारलाई सुझाव सल्लाह दिने काम परिषदबाट भईरहेको बताउँदै स्वीकृति नलिई काम गरेमा कारवाही गर्ने सम्मको अधिकार परिषदलाई रहेको जानकारी गराउनु भयो । परिषदले अहिले सात वटै प्रदेशमा शाखा कार्यालय स्थापना गरिसकेको जानकारी गराउँदै लुम्बिनीमा कर्मचारी थप गरि सिकलसेल एनिमिया र डेंगुको अनुसन्धानको क्रममा रहेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा सवास्थ्य तालिम केन्द्र लुम्बिनीका निर्देशक नोमनारायण चौधरी, प्रदेश स्वास्थ्य आपुर्ती केन्द्रका निर्देशक दिनेशकुमार चापागाइ र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरीले अनुसन्धानको धेरै महत्व रहेको र गरिने अनुसन्धान व्यवस्थित र तथ्यपरक हुनुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नीति निर्माण, समस्याको समाधान तथा आवश्यकता पूर्तिका लागि पनि अनुसन्धानको धेरै ठूलो महत्व रहेकाले अनुसन्धानको पाटोलाई सघाउन र बढीभन्दा बढी अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नको लागि क्लवले यो तालिममा सहयोग गरेको जानकारी गराउनु भयो । उहाँले क्लवले यो वर्ष सिकलसेल एनिमिया र अटिजमको क्षेत्रमा काम गर्ने योजना बनाएको बताउँदै प्रदेशमा यसको वास्तविक अवस्था के हो भन्ने कुरा नहुँदा कार्यक्रम सञ्चालन गर्न पनि समस्या भएको बताउँदै तालिम पश्चात तत्काल अनुसन्धान हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पब्लिक हेल्थ एसोशियसन लुम्बिनीका अध्यक्ष हेमराज पाण्डेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम सचिव निराजन पोखरेलको सञ्चालनमा भएको थियो । तीन दिनसम्म सञ्चालन हुने तालिममा डा. विष्णु मरासिनी लगायतले तालिम प्रदान गर्नुहुने छ ।