कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विमललाई तिलोत्तमामा सम्मान

251

कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विमललाई तिलोत्तमामा सम्मान

कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने तिलोत्तमाका विद्यार्थीलाई तिलोत्तमाको तिलोत्तमा क्याम्पसले सम्मान गरेको छ ।
तिलोत्तमामा अध्ययन गरेका गुल्मी छत्रकोटका विमल न्यौपानेले कक्षा १२ को परीक्षामा नेपालमै सबैभन्दा बढी ३.९६ जिपिए अंक ल्याएर नेपाल प्रमथ हुनुभएको थियो । उहाँलाई तिलोत्तमाको योगिकुटीमा रहेको तिलोत्तमा माध्यमिक विद्यालय (क्याम्पस)ले सोमबार विद्यालयमा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख उपसचिव रमाकान्त तिवारी, तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद विभागका प्रमुख उपसचिव गंगाराम आचार्य, तिलोत्तमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकाल, प्राचार्य प्राध्यापक डा. रामचन्द्र आचार्यले प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।
उक्त विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागि भएका विद्यार्थीले अघिल्लो वर्ष पनि नेपालमै सर्वोत्कृष्ट अंक ल्याएको सहप्राध्यापक नवेन्दु ढकालले जानकारी गराउनु भयो ।
विद्यार्थीलाई सम्मान कार्यक्रमा बोल्दै तिलोत्तमाका नगरप्रमुख खाँणले नेपालको शैक्षिक विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताउँदै सरकारी र निजी विद्यालयमा भईरहेको विभेद अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले सरकारी विद्यालयलाई प्रदान गर्ने सेवा सुविधा निजी विद्यालयलाई पनि उपलब्ध गराउन छलफल गर्ने जानकारी गराउनु भयो ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारीले तिलोत्तमा यस क्षेत्रमै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताउँदै मुलुक भर झण्डै ४ हजार विद्यालयलाई उछिनेर अग्रस्थानमा आउनु सामान्य कुरा नभएको भनाई राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकाल, प्राचार्य प्रा.डा. रामचन्द्र आचार्य लगायतले विद्यालयको बारेमा जानकारी गराउँदै स्थापना कालदेखि नै विद्यालयले उत्कृष्ट नतिजा दिईरहेको दावी गर्नुभयो ।