रुपन्देहीमा अटिजम विद्यालय सञ्चालनको तयारी

86

रुपन्देहीमा अटिजम विद्यालय सञ्चालनको तयारी

सिकलसेल र अटिजम विरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अटिजम भएका बालबालिको लागि रुपन्देहीमा विशेष विद्यालय सञ्चालनको तयारी गरेको छ । क्लवले अटिजम विशेष विद्यालय सञ्चालनको लागि आवश्यक अध्ययन गरिरहेको क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराउनु भयो ।
अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, कृयाकलाप लगायतका कुराहरुमा अस्वभाविक व्यवहार देखा पर्ने अटिजम केयर सोशाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेती बताउनु हुन्छ । यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन । यद्यपी वैज्ञानिकहरुले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।
डा. रुपाखेतीका अनुसार नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जस अनुसार नेपालमा ३ लाखमा र लुम्बिनी प्रदेशमा ८ देखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । अहिलेसम्म यस विषयमा कुनै अध्ययन भने भएको छैन । रुपन्देही जिल्लामा करिव २५० जना अटिजम केयर सोशाईटीको सम्पर्कमा आएका छन् ।
रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनको लागि रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय र अटिजम केयर सोशाईटी लुम्बिनीसंग छलफल गरिसकेको छ । लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार (तिलोत्तमा नगरपालिका), शान्ति नमुना माध्यमिक विद्यालय र अटिजम केयर सोशाईटीबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष भण्डारीले बताउनु भयो ।
त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा प्रोजेक्टमा सहयोग गर्नको लागि क्लवले जापानको रोटरी सेटेलाईट क्लव अफ बाको २१ साकितामालाई प्रस्ताव गरेको छ । त्यहाँबाट पनि सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनु भयो ।