रुपन्देहीमा डेंगु संक्रमितको संख्या ६७९ पुग्यो

31

रुपन्देहीमा डेंगु संक्रमितको संख्या ६७९ पुग्यो

रुपन्देहीमा डेंगु संक्रमितको संख्या ६७९ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीमा प्राप्त भएको विवरण अनुसार रुपन्देहीमा सोमबारसम्म डेंगु संक्रमितको संख्या ६७९ रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका डेंगु फोकल प्रसन केदारनाथ शाहले जानकारी गराउनु भयो ।
उहाँका अनुसार जिल्लामा डेंगु संक्रमितको संख्या अझै धेरै पनि हुन सक्छ । स्वास्थ्य कार्यालयलाई जिल्लाका ४ वटा अस्पताले मात्रै रिपोर्टिङ गर्ने गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल, क्रिमसन अस्पताल मणिग्राम र भिम अस्पताल भैरहवाले दिएको रिपोर्टको आधारमा स्वास्थ्य कार्यालयले यो तथ्यांक दिएको हो ।
यस बाहिकका अस्पतालमा पनि डेंगु संक्रमित विरामीको उपचार भईरहेको छ । ती अस्पतालमा उपचार गराएका बिरामीको रेकर्ड स्वास्थ्य कार्यालयसंग छैन । लुम्बिनी प्रदेशमा हालसम्म डेंगु संक्रमित बिरामीको संख्या २ हजार ६८३ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी दाङमा संक्रमण फैलिएको छ । दाङमा संक्रमितको संख्या १ हजार १८० पुगेको छ, त्यसपछि रुपन्देहीमा संक्रमितको संख्या ६७९ हो ।
शाहका अनुसार जिल्लामा पनि सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा फैलिएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगाएतका जिल्लाका स्थानीय तहहरुले आ–आफ्ना पालिकामा लामखुट्टे मार्ने र त्यसको बासस्थान नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नको लागि जनेचतामुलक अभियान सञ्चालन गरिरहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्रै बैशाखदेखि हालसम्म १ हजार ८७३ जना डेंगु संक्रमितको उपचार भएको अस्पतालका डेंगु फोकल प्रसन दयासागर पन्थीले जानकारी गराउनु भयो । यो अस्पतालमा लुम्बिनी प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका २÷३ जिल्लाबाट र भारतबाट समेत उपचारको लागि आउने गर्दछन् । २०७६÷७७ मा पनि डेंगुले रुपन्देही जिल्लामा महामारीको रुप लिएका थियो । डेंगुकै कारण रुपन्देही जिल्लामा २०६७÷६८ मा ४ जना, २०७३÷७४ मा २ जना, २०७४÷७५ मा २ जना र २०७६÷७७ मा ३ जनाले ज्यान गुमाएका थिए ।
डेंगु संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । यो जातको लामखुट्टे साना–साना सफा पानी जम्ने स्थानमा फूल पार्ने र यसले प्रायः दिउँसोमा टेक्ने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका डेंगु फोकल प्रसन शाह बताउनु हुन्छ । एक्कासी ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग, ढाड जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा विमिरा आउने, रक्तश्राव यसका लक्षणहरु हुन् ।
सामान्यतया डेंगु ज्वरोको अवधि ४ देखि ७ दिनसम्मको हुन्छ । तर कहिलेकाँही ३ देखि १४ दिनसम्म पनि रहनसक्ने शाह बताउनु हुन्छ । डेंगु ज्वरो विषाणुका कारणबाट हुने भएकाले यसको खास उपचार छैन ।
सामान्यतया यो जातको लामखुट्टेको अण्डा १ वर्षसम्म बाँच्न सक्छ । संक्रमित लामखुट्टेले अण्डा पारेमा उक्त अण्डा पनि भाईरस संक्रमित हुन्छ । यो लामखुट्टे चिसो तथा छायाँ परेको ठाउँमा बस्न मन पराउँछ । यसको लागि १६ देखि ३० डिग्रि सेलसियस तापक्रम उपयुक्त हुन्छ । यो तापक्रममा यो जातको लामखुट्टे ३० दिनसम्म बाँच्न सक्ने उहाँले बताउनु भयो ।
देशभर डेंगु संक्रमित बिरामीको संख्या तिब्र रुपमा बढ्दै गएपछि सरकारले डेंगुलाई महामारी घोषणाको तयारी गरेको छ ।