विश्व फार्मासिष्ट दिवस : बुटवलमा जनचेतनामुलक प्रभातफेरी

130

विश्व फार्मासिष्ट दिवस : बुटवलमा जनचेतनामुलक प्रभातफेरी

नेपाल फार्मेसी संघ रुपन्देहीले बुटवलमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम गरेको छ । विश्व फार्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी संघ रुपन्देहीले आईतबार बुटवलमा जनचेतनामुलक प्रभातफेरी गरेको हो ।
बुटवलको अस्पताललाई देखि सुरु भएको प्रभातफेरी बुटवल उपमहानगरपालिकामा पुगेर सकिएको थियो । प्रभातफेरीमा सहभागी फार्मासिष्टहरुले, जहाँ औषधि त्यहाँ फार्मासिष्ट, एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग नगरौं, औषधिको समुचित प्रयोग गरौं, लागू औषधिको दुरुपयोग नगरौं लगायतका नारा लगाएका थिए ।
प्रभातफेरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उत्पादित जनशक्तिको सीप र क्षमतालाई राज्यले प्रयोग गर्नुपर्ने बताउँदै त्यसको लागि नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले नगरपालिकाले नीति र विधि बनाउने काममा सहयोग गर्न पनि संघलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख पाण्डेयले बुटवलमा औषधि व्यवसायमा भएका वेथितीहरुलाई सुधार गर्नको लागि नगरपालिकाले योजना बनाएको बताउँदै अस्पतालजन्य फोहोर (हाजार्ड) व्यवस्थापन, विना दर्ता सञ्चालित औषधि पसलको व्यवस्थापन लगायतका काम छिट्टै सुरु हुने बताउँदै त्यसमा पनि सहयोग आग्रह गर्नुभयो ।

त्यस अवसरमा फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले राज्यले ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’लाई अंगिकार गरेपनि कार्यान्वयन नहुनु दुःखद रहेको बताउँदै फार्मेसीको दरवन्दी सिर्जनाको काम बुटवलबाट सुरु गर्न आग्रह गर्नुभयो ।
अन्तर्राष्ट्रिय फार्मास्युटिकल महासंघ (एफ.आई.पी.) परिषदको सन् २००९ मा टर्कीमा बसेको बैठकले २५ सेप्टेम्बरलाई विश्व फार्मासिष्ट दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्यक वर्ष २५ सेप्टेम्बरमा फार्मासिष्ट दिवस मनाउँदै आईएको नेपाल फार्मेसी संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले जानकारी गराउनु भयो । यसले विश्वभरका फार्मासिष्टलाई स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति भूमिका निर्वाह गर्न प्रोत्साहन गर्दै आएको छ ।
औषधि व्यवसायी र फार्मासिष्ट अलग अलग कुरा भएको बताउँदै सहि औषधिको प्रयोगलाई प्रवद्र्धन गर्नको लागि राज्यका निकायमा फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने, औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्टको व्यवस्था गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
फार्मासिस्ट औषधिका विज्ञ हुन्, औषधिको प्रयोगमा देखिने समस्यालाई समाधान गर्न र औषधि वितरणदेखि परामर्शसम्मको चरणमा हुने त्रुटिहरुलाई न्यून गरी विरामीको स्वास्थ्य रक्षा गर्नमा फार्मासिष्टहरुले अहम् भूमिका खेल्छन् भन्ने कुरालाई संघले जोड दिईएको संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारीले बताउनु भयो ।
कार्यक्रम संघका रुपन्देही जिल्ला उपाध्यक्ष चोकलाल सापकोटाको स्वागत तथा सचिव उदयबहादुर खत्रीको सञ्चालनमा भएको थियो ।