बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) तीनसय शैयामा स्तरबृद्धि हुने

125

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) तीनसय शैयामा स्तरबृद्धि हुने

बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) तीन सय शैयामा स्तरबृद्धि हुने भएको छ । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको संयुक्त बैठकले सय शैयामा सञ्चालनमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई स्तरबृद्धि गरी तीन सय शैयामा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल व्यवस्थापन समितिको निमन्त्रणामा आउनु भएका आम्दा अन्तर्राट्रिय अध्यक्ष डा. सिगेरु सुगानामीको उपस्थितीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई महत्व दिँदै २ सय शैया थप गरेर तीन सय पु¥याउने निर्णय गरिएको स्थानीय अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष समेत रहनु भएका बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको छ । त्यस बाहेक बुटवल उद्योग वाणिज्य संघको सहयोगमा आईसियु सहितको कोभिड वार्ड समेत सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र बस्यालले जानकारी गराउनु भयो ।
आम्दा अन्तर्राष्ट्रिय अध्यक्ष सहित आम्दा नेपालका पदाधिकारीहरुलाई स्वागतको लागि बुटवल उद्योग वाणिजय संघमा मंगलबार आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सुगानामीले अस्पताल स्तरबृद्धि गर्ने निर्णयले आफूलाई धेरै खुसी बनाएको बताउँदै अस्पताललाई राम्रोसँग सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले अस्पताल सञ्चालन गर्न त्यसका मापदण्ड लगायतका कुराहरुमा विशेष ध्यान दिनुपर्ने भन्दै एक पटक जापानको ओखयामा रहेको तीन सय शैयाको अस्पताल अवलोकनको लागि निमन्त्रणा गर्नुभयो ।
त्यो भ्रमणमा उद्योगी व्यवसायीहरुका लागि समेत औद्योगिक अवलोकन भ्रमणको व्यवस्था मिलाउने बताउँदै उहाँले यसले त्यहाँको व्यवसायिक अनुभव, ज्ञान लगायतका कुराहरुले नेपालको औद्योगिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आम्दा अस्पताललाई तीन सय शैया बनाउने निर्णय भएको बताउँदै यसले यहाँको स्वास्थ्य सेवाको विकासमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा थ्री पि मोडेल सुरु नहुँदा बुटवलमा त्यसको प्रयोग भएको बताउँदै थ्री पि मोडलबाट यहाको विकासमा नगरपालिका अगाडि बढेको बताउनु भयो ।
त्यस्तै आम्दा नेपालका अध्यक्ष डा. अनिल दासले त्रिपक्षीय बैठकबाट आम्दा बुटवलको शैया बृद्धि गरी अस्पताल स्तरबृद्धि गर्ने निर्णले धेरै खुसीको अनुभूति भएको बताउँदै यसले स्थानीयको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन थप बल मिलेको भनाई राख्नुभयो । उहाँले अस्पतालको स्तरबृद्धि सँगै यहाँको आवश्यकता परिपूर्ती गर्न सक्षम हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै आम्दा नेपालका पूर्व अध्यक्ष डा. सरोज वझाले तत्कालिन समयमा आवश्यकता र यहाँका नागरिकको चाहना अनुसार अस्पताल स्थापना गरिएको बताउँदै अहिलेको आवश्यकता अनुसार स्तरबृद्धिको निर्णय गरिएको बताउनु भयो । यस अभियानमा सबैको साथ र रहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवादमा भएको कार्यक्रम महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।