संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनलाई जिताउन प्रधानमन्त्री देउवाको आग्रह

1.3K

संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनलाई जिताउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाको लागि सत्ता गठबन्धनका उम्मेवारले जित्नै पर्ने बताउनु भएको छ । सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले टिकट नपाएर असन्तुष्ट नेता कार्यकर्तालाई अन्यत्र पनि ठाउँ भएकोले नआत्तिन पनि आग्रह गर्नुभयो । ‘टिकटको आकाँक्षा राख्ने सबैलाई टिकट दिन सकिएको छैन ।’ उहाँले भन्नुभयो–‘अरु पनि धेरै ठाउँ छन्, ती ठाउँमा पनि व्यवस्थापन गर्न सकिन्छ ।’
उहाँले मुलुक पश्चगमनतिर जान लागेका बेला त्यसलाई बचाएर गठबन्धनका दलहरुले आफूलाई प्रधानमन्त्री बनाएकाले ती दलहरुलाई पनि ईमानदारीपूर्वक मत दिनुपर्ने भनाई राख्नुभयो । ‘यो निर्वाचन अरुवेला जस्तो सामान्य चुनाव होईन, प्रतिगमनका विरुद्ध अग्रगमनको लडाई हो ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो–‘संविधान र व्यवस्था रक्षा गर्दै मुलुकको विकास र समृद्धिको दायित्व पाँच दलीय गठबन्धनसंग छ, त्यसमा तपाईहरु ईमान्दारीपूर्वक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
उहाँले दुई पटकसम्म संसद विघटन गरेर प्रतिगमनको यात्रा तय गरेको एमालेले त्यस्तै प्रकारका दलहरुसंग गठबन्धन गरेर आफ्नो असली चरित्र देखाएको पनि आरोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव तित्नमात्रै नभएर राष्ट्रको रक्षाको निम्ति सैद्धान्तिक र वैचारिक धरातलमा गठबन्धन गरिएको बताउँदै सबै दलले प्रतिवद्ध भएर गठबन्धनका उम्मेद्वारलाई मत दिन आग्रह गर्नुभयो । ‘संविधानको रक्षा, स्थिरता, आर्थिक विकासको लागि यो गठबन्धन हो ।’ उहाँले भन्नुभयो–‘हामी आज एकातिर गठबन्धन एउटा बृहत महान उद्देश्यको निम्ति एक भएको हो भन्ने कुरा तपाईहरु सबैसित शेयर गर्न आएको हो, अर्को हामी एक छौं भन्न पनि आएको हो, तपाईहरुले पनि गहिरोसंग आत्मसात गरिदिनु होला ।’
उहाँले गठबन्धन विजयी हुनेपर्ने बताउँदै विजय भईसकेपछि पनि यो देशमा प्रतिगमन, प्रतिक्रान्ति र निरंकुशताको खतरा रहिराख्ने भएकाले अग्रगामी लोकतान्त्रिक शक्तिहरुको मोर्चा आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने भएकाले सम्पूर्ण तागत सहित लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षतविक्षत भईसकेको संविधान र मासिईसकेको गणतन्त्रलाई आफूहरुले बचाएको बताउँदै संविधान र गणतन्त्रको रक्षा तथा विकास र समृद्धिको लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनु भयो ।
उहाँले केपि ओलीको अहंकार र एकाधिकारबाट मुलुकलाई मुक्त गरेको बताउँदै त्यसमा आफूले गर्व गरेको भनाई राख्नुभयो । ‘उसलाई देशको कुनै मतलव छैन, जनताको केही मतलव छैन, मलाई कामै गर्न दिईएन भन्छ ।’ उहाँले भन्नुभयो–‘मलाई कामै गर्न दिईएन भन्न लाज लाग्दैन ?, प्रचण्ड जी यही हुनुहुन्छ, हाम्रा सुझाव सल्लाह पचेन, केपि ओली सुध्रिनेवाला छैन ।’ केपि ओलीको अहंकार र एकाधिकारवादकै कारण एमालेले प्रतिगामी शक्तिहरुसंग साठगाठ गरेको उहाँले आरोप लगाउनु भयो ।
त्यस्तैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जिते जनतामा आएको शासन सत्ता फुत्किने डर रहेको बताउँदै संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । ‘सामान्य चुनावी तालमेलका रुपमा मात्रै बुझ्नु हुन्न ।’ उहाँले भन्नुभयो–‘एमालेमा प्रतिगमनको यात्रामा छ, हामी अग्रगमन हौं, यो सत्ताको लागि मात्रै गरिएको गठबन्धन होईन, व्यवस्था बचाउने गठबन्धन हो ।’
राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले प्रतिगमन विरुद्धको शक्तिलाई हराउनु पर्ने अहिलेको मुख्य विषय रहेको बताउनु भयो । प्रतिगमन विरुद्धको आन्दोलनमा पाँच दलीय गठबन्धन सफल भएको बताउँदै उहाँले समयमै स्थानीय निर्वाचन सम्पन्न गर्न पनि सफल भएको बताउनु भयो । मुलुकको अग्रगमनको लागि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न भएका सहमतिहरु इमानदारी पुर्वक कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धन मुलुकको राष्ट्रिय आवश्यकता भएको बताउँदै गठबन्धनका दलहरु बिचमा सहमति, सहकार्य र एकताको माध्यमबाट मुलुकलाई विकसित र समृद्ध बनाउने सपना रहेको भनाई राख्नुभयो । उहाँले गठबन्धनबाट लुम्बिनी प्रदेशका २६ वटै प्रतिनीधि सभा र ५२ वटै प्रदेश सभा सदस्यका उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताउनु भयो । गृहमन्त्री खाँणले मुलुकमा विकास, शान्ति र समृद्धि नागरिकको चाहना अनुसार आगामी गठबन्धन सरकारले पुरा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसको लागि उद्यमशिलताको विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा संघीय समाजवादी पार्टीका सन्तोष पाण्डे, नेकपा एकीकृत समाजवादी पार्टीका यादवबहादुर रायमाझी लगायतले गठबन्धनका उम्मेद्वारलाई जीताउनको लागि सबैको साथ र रहयोग लागि आग्रह गर्नुभएको थियो ।