लुम्बिनीमा थप ३३३ जनामा एचआईभि संक्रमण

78

लुम्बिनीमा थप ३३३ जनामा एचआईभि संक्रमण

लुम्बिनी प्रदेशमा ३३३ जना एचआईभि संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा ३२ हजार ७२८ जनामा परिक्षण गर्दा सन् २०२१ को अन्तसम्ममा ३३३ जना नयाँ व्यक्तिमा संक्रमण भेटिएको हो । योसंगै लुम्बिनी प्रदेशमा अहिले ४ हजार ३२५ जनाले उपचार सेवा लिईरहेका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व बाहेकका ११ जिल्लामा उपचारको व्यवस्था छ । जसमध्ये रुपन्देहीमा सबैभन्दा धेरै विरामीले उपचार गराईरहेका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर ओलीका अनुसार यो संख्या प्रदेशमा अनुमानित कुल संक्रमितको ७२ प्रतिशत हो । त्यस्तै १२ जना गर्भवती महिलामा पनि एचआईभि संक्रमण भेटिएको थियो । प्रदेशमा करिव ५८ हजार गर्भवती महिलामा एचआईभि संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।
तर उनीहरुबाट जन्मिएका बच्चामा भने संक्रमण देखिएन । आमाको उपचारले बच्चाको प्रिभेन्सन भएको उहाँले बताउनु भयो । सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यस्तै विश्वमा ३ करोड ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।
नेपालमा अहिले २२ हजार ७३३ जनाले उपचार गराईरहेका छन् । यो अनुमान गरिएको कुल संक्रमितको ७२ प्रतिसत हो । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत ओलीका अनुसार नेपालमा हरेक दिन नयाँ दुई जना संक्रमित थपिन्छन् । नेपालमा सन् २०२१ मा नयाँ ६८० जनामा संक्रमण भएको अनुमान छ । यो २००० को तुलनामा ८४ प्रतिशत घटेको हो । सन् २००० मा ४ हजार ३७० जनामा नयाँ संक्रमणको अनुमान गरिएको थियो ।
त्यस्तै सन् २०२१ मा नेपालमा ५१० जना एचआईभि संक्रमणको कारण मृत्यु भएको अनुमान गरिएको छ । यो २००७ को तुलनामा ७१ प्रतिशतले कमि हो । सन् २००७ मा १ हजार ७६५ जनाको मृत्यु भएको थियो ।
एचआईभि संक्रमितको उपचार तथा उनीहरुको व्यवस्थापनको लागि केही नभएको होईन । तर कतिपय कुराहरुमा अझै सुधार गर्नुपर्ने एचआईभि संक्रमित महासंघ लुम्बिनीका अर्जुन ज्ञवाली बताउनु हुन्छ । विशेष गरेर उहाँले भाईरल लोड मसिनको खाँचो औंल्याउनु भएको छ । ‘एचआईभि संक्रमितलाई प्रत्येक ६ महिनामा भाईरल लोड गर्नुपर्छ । त्यो गरिएन भने औषधि खानु र ढुंगा माटो खानुमा कुनै फरक छैन ।’ उहाँले भन्नुभयो–‘लुम्बिनी प्रादेशिक अस्पतालमा एउटा भाईरल लोड मसिनको व्यवस्था गर्न सकियो भने यस क्षेत्रका बिरामीलाई सहज हुने थियो ।’ अहिले भाईरल लोड गर्नको लागि काठमाण्डौं जानुपर्ने बाध्यता हरेको उहाँले बताउनु भयो ।
त्यस्तै एचआईभि संक्रमितको उपचार त सरकारले गर्दै आएको छ । तर संक्रमति बालबालिकाको पठन–पाठन तथा जीवन–यापनलाई पनि सहज बनाउनको लागि प्रत्येक स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने उहाँले माग गर्नुभयो । उहाँका अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत केही स्थानीय तहले बजेट विनियोजन गरेका छन् । यो काम सबैले गर्दा राम्रो हुने उहाँका भनाई छ ।
आज विश्व एड्स दिवस हो । यो वर्ष ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि विश्व एड्स दिवस मनाईँदै छ । लुम्बिनी प्रदेशमा पनि प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल उपमहानगरपालिका लगायतले संयुक्त रुपमा बुटवलमा जनचेतनामुलक ¥याली प्रदेर्शन गरिएको लुम्बिनी प्रदेशिक अस्पताल एड्स फोकल प्रसन भिमप्रसाद ज्ञवालीले जानकारी गराउनु भयो ।