आज विश्वकप फूटवलको फाईनल प्रतिस्पर्धा : उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

37

आज विश्वकप फूटवलको फाईनल प्रतिस्पर्धा : उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

विश्वकप फूटवलको फाईनल प्रतिस्पर्धा आज हुँदैछ । विश्वकप उपाधिका लागि आज साँझ अर्जेन्निा र फ्रान्स कतारको लुसेल आइकोनिक रंगशालामा भिड्दै छन् । फाइनल खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको थियो ।
त्यस्तै अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको थियो । फाईनल खेलको विजेताले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको फाईनल प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू आतुर छन् । विश्वकप कसले जित्ला ? अर्जेन्टिना वा फ्रान्स, मेसी वा एमबाप्पे । त्यसका लागि फाइनल खेलको अन्तिम हुसिल बज्ने बेलासम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
अर्जेन्टिना या फ्रान्स जसले जिते पनि विश्वकपमा केही कीर्तिमानहरु बन्ने पक्का छ । अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ र मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउने छन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ । यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।
पछिल्ला ७ विश्वकपमा साविक विजेता फ्रान्स यो सहित फाईनमा चौथो प्रतिस्पर्धामा छ । फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ ।
फ्रान्सले सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको थियो भने २०१८ मा दोस्रो विश्वकप फाईनल जितेको थियो । अर्जेन्टिनाले भने सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कुल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेल जितेको छ । बाँकी तीन खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।