जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान : ६५ प्रिन्ट रगत संकलन

36

जि ट्वान्टी फाईभ क्लवद्वारा रक्तदान : ६५ प्रिन्ट रगत संकलन

बुटवल उपमहानगरपालिका वडा नं. ११ मा गठन गरिएको जी ट्वान्टी फाईभ क्लवले रक्तदान कार्यक्रम गरेको छ । क्लवले रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विहिबार बुटवल ११ देवीनगर चौपारीमा रक्तदान कार्यक्रम गरेको हो ।
क्लवले वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यो सातौं रक्तदान कार्यक्रम हो । उक्त कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा सुभेच्छुक समेत गरी ६५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भेषराज अर्यालले जानकारी गराउनु भयो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नकुल शाहीले क्लवले गर्दै आएको सामाजिक काम प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा पनि क्लवलाई उक्तिकै सक्रिय राख्न आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष निर्मल नेपालले क्लवले सामाजिक उत्तरदायित्व बहन गरेर धेरै काम गरेको बताउँदै रक्तदान पनि सामाजिक उत्तरदायित्व भित्रको एउटा अंग भएको भनाई राख्नुभयो । उहाँले क्लवले प्रत्येक वर्ष साधारण सभाको अवसरमा रक्तदान गर्दै आएको जानकारी गराउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनु भयो ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष देवलाल अर्गाली, उपाध्यक्ष जगदिश न्यौपाने, रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक गणेश खनाल, क्लवका सचिव किशोर पंगेनी लगायतले भनाई राख्नु भएको थियो ।