राष्ट्रबैंक डेपुटी गभर्नर नियुक्तिमाअर्थमन्त्री पौडेलको लफाडा

राष्ट्रबैंक डेपुटी गभर्नर नियुक्तिमाअर्थमन्त्री पौडेलको लफाडा

Nepal_rastra_bank_646584961

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेल र गभर्नर डा.चिरञ्जीवी नेपालबीच सहमति हुन नसक्दा डेपुटी गभर्नर नियुक्तिमा ढिलाइ भएको छ।स्रोतका अनुसार अर्थमन्त्री पौडेल र गभर्नर नेपालबीच सिफारिसमा पर्ने कार्यकारी निर्देशकको विषयमा कुरा मिलेको छैन। अर्थमन्त्री पौडेल रित्त पदमा दुईजना एमाले समर्थक र दुईजना कांग्रेस समर्थक कार्यकारी निर्देशक गभर्नरले सिफारिस गर्नुपर्ने पक्षमा छन् भने गभर्नर नेपाल तीनजना कांग्रेस समर्थक र एउटा एमाले निकट व्यक्तिलाई सिफारिस गर्ने पक्षमा छन्।राष्ट्रबैंक ऐनअनुसार गभर्नरले रिक्त डेपुटी गभर्नर नियुक्तिका लागि अर्थमन्त्रालयमा रित्त पदको दोब्बर सिफारिस गर्नुपर्ने हुन्छ। अहिले दुईवटै डेपुटी गभर्नरको पद खाली भएको हुँदा गभर्नर नेपालले चारजना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरका लागि सिफारिस गर्नुपर्ने हुन्छ।
गत पुस ९ देखि राष्ट्रबैंकका डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको पाँचवर्षे पदावधी सकिएपछि केन्द्रीय बैंक अहिले डेपुटी गभर्नरबिहीन अवस्थामा पुगेको छ । डेपुटी गभर्नरको पद खाली भएको दुईसाता हुन लागे पनि नियुक्ति कहिले हुन्छ भन्ने टुंगो लागेको छैन।
राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई नेपाली कांग्रेसको नेतृत्वको सरकारले नियुक्त गरेको हो। गभर्नर कांग्रेस निकट भएको र अहिले सरकारको समीकरण फेरिएको हुँदा कांग्रेस निकट कार्यकारी निर्देशकलाई डेपुटी बनाउन नहुने मत एमाले निकट कर्मचारीको छ।
यसमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेल पनि सहमत छन्। गभर्नर नेपाल निकटको भनाइ भने एउटा डेपुटी गभर्नर सरकारको नेतृत्व गरेको दलको भएपछि अर्को डेपुटी गभर्नर पद गभर्नर निकट व्यक्ति हुनपर्छ भन्ने छ।
राष्ट्रबैंक ऐनले कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त गर्न सक्ने भनेको छ। यसले गर्दा १६ वटै कार्यकारी निर्देशक आफ्नो तर्फबाट राजनीतिक लबिङ तीव्र पारेका छन्।
पछिल्लो समय सरकारले विभिन्न देशमा राजदूत नियुक्ति गर्ने तयारी गरेको हुँदा राष्ट्रबैंकको डेपुटी गभर्नर नियुक्ति प्याकेजमा डिल हुने सम्भावना पनि देखिएको छ। सरकारको प्रमुख साझेदार एमाओवादीले पनि एकजना डेपुटी गभर्नर आफ्नो हुनपर्ने माग राखेको छ।
राष्ट्रबैंकका एमाले निकट कर्मचारीले पनि कांग्रेस निकट डेपुटी हुनुभन्दा एकजना एमाओवादी निकट हुँदा केही नहुने सुझाव दिएको स्रोतको भनाइ छ।अर्थमन्त्री र गभर्नरबीच सहमति हुन नसक्दा डेपुटी गभर्नर नियुक्तिमा भएको ढिलाइले राष्ट्रबैंकले गर्ने काम कारबाहीमा पनि समस्या देखिएको छ।
गतहप्ता राष्ट्रबैंकमा आयोजित विभागीय प्रमुखको बैठकमा गभर्नर नेपालले डेपुटी नभए पनि आफ्नो काम समयमा गर्न निर्देशन दिएका थिए।’सबै कार्यकारी निर्देशक डेपुटीका लागि दौडधूपमा लागेपछि कामकारबाहीमा असर देखिनु स्वभाविक हो’,राष्ट्रबैंकका एक अधिकृतले भने,’ नियुक्ति नहुने दिनसम्म लबिङमा हुनु स्वभाविक हो।’
डेपुटी गभर्नरले विभिन्न विभागको नेतृत्व गर्ने हुँदा गभर्नरको धेरै काम डेपुटीमार्फत हुने गरेको थियो। अहिले कार्यकारी निर्देशकबाट एकैपटक गभर्नरको फाइल पठाउदा गभर्नरलाई पनि कामको चाप परेको छ।‘ नियुक्ति नहुँदासम्म आवश्यक दौडधूप गर्नुपर्‍यो’,डेपुटीको प्रतिस्पर्धामा रहेका एक कार्यकारी निर्देशकले भने,’ यसले केही काममा असहज भए पनि राष्ट्रबैंकको निर्णयनै रोकिएको अवस्था छैन।’
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •