वीरगन्ज नाकाको मितेरी पुलमा आन्दोलनकारी र भारतीय व्यपारीहरुबीच फेरि झडप

1.3K

वीरगन्ज नाकाको मितेरी पुलमा आन्दोलनकारी र भारतीय व्यपारीहरुबीच फेरि झडप

Birgunj_Raksaul Border Temper_Madhesi

वीरगन्ज / रक्सौल–वीरगन्ज नाका ठप्प पारेर मितेरी पुलमा धर्ना बसेका नेपालका आन्दोलनकारी र भारतीय व्यपारीहरुबीच बुधबार फेरि झडप भएको छ । झडपका क्रममा भारतीय व्यपारी र तिनका भरियाहरुले आन्दोलनकारीमाथि करिब पाँचवटा पेट्रोल बम प्रहार गरेका छन् ।
झडपमा तीनजना आन्दोलनकारी घाइते भएका छन् । भारतीयहरुले हानेको ढुंगाले लागेर राष्ट्रिय मधेस समाजवादी पार्टीका युवा नेता चुन्नु मिश्रा, नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेल र सरफुदिन अन्सारी घाइते भएका हुन् ।
घाइतेमध्ये मिश्राको मुख र नाक फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अरु दुईजना उपचारपछि घर फर्किएका छन् ।
बिहान साढे नौ बजेतिर रक्सौलबाट साइकल र पैदल सामानको पोका लिएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरिरहेका २०÷२५ जना भारतीय व्यपारीलाई धर्नामा बसेकाले रोक्न खोजेपछि विवाद भइ झडप भएको हो ।
आन्दोलनकारी र भारतीय व्यपारीबीचको झडपका कारण मितेरी पुल दिउँसो एक बजेसम्म तनावग्रस्त थियो । मितेरी पुलमा आन्दोलनकारीले भारतीयहरुले रक्सौलबाट वीरगन्जतर्फ ल्याउँदै गरेको केही पोका सामान नियन्त्रणमा लिएर जलाइ दिएका छन् ।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा रहेका आन्दोलनकारीले भारतीय व्यपारीहरुको सामान जलाएका हुन् ।
रक्सौलबाट सामान ओसार्ने भारतीय व्यपारीहरुले हातपात गर्न खोजेपछि आन्दोलनकारीले प्रतिवाद गर्दा झडप भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले बताए ।
‘रक्सौलबाट तस्करहरु साइकलमा सामान लिएर आउदै थिए’, उनले भने, ‘हामीले सामान नओसार्न आग्रह गर्दैथियौँ, अचानक वीरबहादुर भन्ने एक तस्करले हाम्रा साथीमाथि हातपात गरेपछि झडप शुरु भयो ।’
संघीय समाजवादी फोरम नेपालका नेता बच्चा यादवले भने मोबाइलको रिचार्ज कार्ड खरिद गर्न शंकराचार्य प्रवेशद्वार नजिकै गएका बेला आफूलाई भारतीय तस्करहरुले घेरा हालेर हातपात गर्न थालेपछि झडप भएको बताए ।
रक्सौल पुलिस थानाबाट आधा दर्जनको संख्यामा भारतीय प्रहरीहरु झडपस्थलमा आएलगत्तै भारतीयहरु पछाडि हटेका थिए ।
त्यसपछि मितेरी पुलको स्थिति साम्य भएको थियो । भारतीयहरु फर्किएपछि आन्दोलनकारीहरु पनि मितेरी पुलमा फर्किएका थिए । भारतीय प्रहरीले आन्दोलनकारी नेताहरुसँग पनि घटनाबारे जानकारी लिएका थिए ।
सीमा नाकामा झडप भइरहँदा नेपाली सुरक्षाकर्मीहरु भने रमिते भएर बसेका थिए । शंकराचार्य प्रवेशद्वार अगाडि करिब दुइ दर्जनको संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले झडपमा हस्तक्षेप गरेनन् ।
ट्याम्पो चालकसँग पनि झडप
सीमानाकामा भारतीयसँग भएको झडप साम्य भएलगत्तै बुधबार दिउँसो मितेरी पुलमै आन्दोलनकारी र टयाम्पो चालकहरुबीच पनि झडप भएको छ । धर्नास्थलनजिकै यात्रु ओसारी रहेका टयाम्पोलाई लखेटन गएका एक जना आन्दोलनकारीलाइ चालकहरुले कुटेपछि झडप भएको हो ।
टयाम्पु चालकहरुले  आन्दोलनकारी विक्रम साह तेलीलाइ कुटे लगत्तै आक्रोशीत मधेसी दलका कार्यकर्ताहरुले मितेरी पुल नजिकै पार्किङ गरेर राखिएका २८ वटा टयाम्पुमा तोडफोड पनि गरेका छन् ।हातमा लठठी भाठा लिएर पुगेका आन्दोलनकारीहरुले ट्याम्पो तोडफोड गर्नुका साथै आधा दर्जन टयाम्पो सडकमै पल्टाइदिएका छन् । आन्दोलनकारीहरुको तोडफोडबाट सबै टयाम्पोको शीशा र हेडलाइट फुटेको छ ।
असोज सात गते देखि मितेरी पुलमा धर्नामा बसेर नाका ठप्प पारेका आन्दोलनकारी माथि भारतीयहरुले पटक पटक आक्रमण गर्दै आएका छन् । आन्दोलनकारी माथि भारतीयहरुले बुधबार गरेको आक्रमण छैठौ पटक हो  ।
यसअघि गत पुष १५ , पुष ९, पुष ८ , मंसिर १६ र मंसिर १७ गते पनि भारतीय र व्यपारीहरुले धर्नामा बसेका आन्दोलनकारी माथि आक्रमण गरेका थिए । आन्दोलनकारीहरु दिनरात धर्नामा बसेर नाका ठप्प पारेपछि कारोबार गर्न असहज भएका कारण भारतीय व्यपारी र तीनका भरियाहरुले पटक पटक आक्रमण गर्दै आएका हुन् ।
रक्सौलबाट मालसामान वीरगन्ज भित्रयाउनका लागि भारतीयहरुले नाकामा धर्ना बसेका आन्दोलनकारी माथि पटक पटक आक्रमण गर्दै आएका हुन् ।
रक्सौलको अहिरवा टोल र प्रेमनगरका कारोबारीहरुले रातिको समयमा रक्सौलबाट ठेला र टाङ्गामा सामान लोड गरेर मितेरी पुलकै नाकाबाट भित्र्याउँदै आएका छन् ।
जाडो शुरु भएपछिका दिनमा धर्नामा बस्ने आन्दोलनकारीहरु कम हुँदै गएका कारण कारोबारीलाई सामान भित्र्याउन सहज भएको छ ।