लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने अन्तर्राष्ट्रिय कन्फ्रेन्स भएको छ । हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्दै आएको क्याम्पसले यसपटक इन्टरनेशनल कन्फ्रेन्स अन प्याराडाइम् सिफ्ट इन विजनेश म्यानेजमेन्ट, इकोनोमिक्स, सोसल इन्नोभेसन एण्ड इन्फरमेसन साइन्स, सेयरिङ ग्लोबल्ली मूख्य विषयमा (प्रज्ञानम् ब्रह्म –०३) तेश्रो संस्करणको अन्र्तराष्ट्रिय कन्फ्रेन्स गरेको हो ।
कार्यक्रमको उद्घाटनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उच्च शैक्षिक संस्थाको रुपमा लुम्बिनी वाणिज्य क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेर विशिष्ट योगदान पुर्याएको र यस प्रकारको अन्तर्राष्ट्रिय कन्फ्रेन्स प्राज्ञिक क्षेत्र र अनुसन्धानका क्षेत्रमा कोषे ढुगां सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले विश्वविद्यालय अनुदान आयोग र त्रि.वि.व्यवस्थापन संकाय डीनको कार्यालयको सहयोगमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको हो । क्याम्पसले यस अगाडि सन् २०१८ र सन् २०२० मा अन्तर्राष्ट्रिय कन्फ्रेन्स गरिसकेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले कन्फ्रेन्सको औचित्यता र उद्देश्यहरुमाथि प्रष्ट पार्नु भएको थियो ।
त्यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्राध्यापक डा. हृदयरत्न बज्राचार्य, त्रि.वि. व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मा, नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज संजेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, कन्फ्रेन्सका संयोजक सहप्राध्यापक राजेन्द्र लम्साल, उपप्राध्याक लक्ष्मणप्रसाद भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
कन्फ्रेन्समा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा. डा. हृदयरत्न बज्रचार्य, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्मा, इभोरा डी विश्वविद्यालय पोर्चुगलका प्रा.शोमोडी सर्कार, आई.आई.एम. इन्डियाका शन्दिप प्रशार, सिद्धार्थ विश्वविद्यालय इन्डियाका प्रा. दिपक बाबु मिश्र, अब्रा विश्वविद्यालय फिलिपिन्सका प्रा.डा. एलेक्सिस एरिजावल– एन्रीक्वीज, सिन्ध विश्वविद्यालय, पाकिस्तानका डा. गुलाम अली बुरिरोले मुख्य वक्ताको रुपमा प्रस्तुती राख्नु भएको थियो ।
दुई दिने कन्फ्रेन्समा फिलिपिन्स, पोर्चुगल, पाकिस्तान, भारत र नेपालका विभिन्न विश्वविद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, सरकारी तथा गैरसरकारी क्षेत्रका ५२ जना अनुसन्धानकर्ताले आ–आफ्नो अनुसन्धानको निष्कर्षहरु प्रस्तुत गर्नु भएको थियो । समापन समारोहमा अतिथी, कन्फ्रेन्सका मुख्य वक्ताहरु, अनुसन्धान प्रस्तुत कर्ताहरु, सहयोगी संस्थाहरु, विभिन्न उपसमितिका संयोजकहरु तथा स्वयंसेवकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।