सुर्तीजन्य पदार्थ निषेध गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिँदै

1.3K

सुर्तीजन्य पदार्थ निषेध गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिँदै

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य पदार्थ निषेध गरेका रुपन्देहीका तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गर्ने भएको छ । संस्थाका सभापति खिमबहादुर हमालको अध्यक्षतामा बुटवलमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउने क्यान्सर रोगको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण योगदान गर्दै सुर्तीजन्य पदार्थ निषेधका लागि चालेको प्रभावकारी कदमको स्वागतमा विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस मे ३१ (जेष्ठ १७)का दिन तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गर्ने निर्णय गरिएको संस्थाका सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो ।
प्राणघातक प्रकृतिको क्यान्सर रोग सम्पुर्ण विश्व, देश र समाजका लागि ठूलो चुनौती भएको बेला स्थानीय तहबाट भएको यसप्रकारको निर्णय र घोषणाले सुर्तीजन्य पदार्थबाट निम्तिने क्यान्सर रोग रोकथाम र नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नुका साथै अरु पालिकालाई समेत प्रेरणा प्रदान गरेकाले सम्मान गर्न लागिएको संस्थाका सल्लाहकार मधुसूदन गैरेले बताउनु भयो ।
स्थानीय तहहरुले दृढ इच्छाशक्ति राखेर कार्यक्रम अगाडि बढाउने हो भने यसमा नागरिक समाजको बलीयो समर्थन रहने र सुर्तीजन्य पदार्थ मुक्त जिल्ला निर्माण गर्न सकिने संस्थाका सदस्य चोला पाठकले बताउनु भयो ।
बैठकले यहि बैशाख २५ नेपाल अर्बुदरोग निवारण संस्था रुपन्देहीका आजीवन सदस्यहरु बिच शुभकामना तथा भेटघाट कार्यक्रम तय गरिएको छ । यस अगाडि संस्थाको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत रुपन्देही जिल्लाका विभिन्न पालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र बुझाईएको सचिव गिरीले बताउनु भयो ।